- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपालकै उत्कृष्ट प्राकृतिक चिकित्सा अस्पताल बनाउने लक्ष्यसहित स्थापित सुस्वास्थ्य हस्पिटलले स्थापनाको पाँच वर्ष पूरा गरेको छ । औषधिविहीन उपचारपद्दतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित २०७२ साल माघ १ गतेदेखि सेवा सुरु गरेको अस्पताल बिहिवारबाट छैटौं वर्षमा प्रवेश गरेको हो ।
नसा तथा हाडजोर्नीका रोगीहरूको उपचार तथा व्यवस्थापन गर्दै आएको अस्पताल स्थापनाको पाँच वर्षको अवधिमा १० हजारभन्दा बढी बिरामीको सफल उपचार गरिसकेको अध्यक्ष सुदर्शन बस्नेतले जानकारी दिए । अस्पतालमा नसा च्यापिएको बिना अपरेसन उपचार, हड्डी खिइएको उपचार, पक्षघातको उपचार, माइग्रेन, अनिद्रा, डिप्रेसन र इन्जाइटीका बिरामी उपचारका लागि बढी आउने गरेको बस्नेतले बताए । नसा च्यापिएका बिरामीको उपचारमा अस्पतालले ९० प्रतिशत सफलता प्राप्त गरेको उनको दावी छ ।
अस्पतालले रोगीको उपचारका साथै रोगी तथा निरोगीलाई स्वस्थ रहन आवश्यक स्वास्थ्य शिक्षा पनि प्रदान गरिरहेको छ । त्यस्तै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीका लागि कम्मर र गर्धनको समस्याबाट बच्ने तरिका, आसन र कसरत पनि सिकाउने गरिएको अस्पताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सञ्चारमाध्यम, कलेज, स्कुल, बैँक तथा वित्तीय संस्था र विभिन्न कर्पोरेट कार्यालयका कर्मचारीलाई कम्मर र गर्धनको समस्याबाट बच्ने उपाय सिकाइएको हो । यसबाट २ सयभन्दा बढी कर्मचारी लाभान्वित भएका छन् ।
काठमाडौंको मीनभवनमा रहेको अस्पतालले देशका विभिन्न १० स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य शिविरमार्फत पाँच हजारभन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा पाएको अस्पतालले जनाएको छ । सुस्वास्थ्य हस्पिटल त्रिपुरेश्वरबाट २०५६ सालदेखि अकुपञ्चर विधिबाट उपचार गर्ने गरी स्थापना भएको वैकल्पिक उपचार सेवा केन्द्रको विस्तारित रुप हो । आयुर्वेद विभागबाट १५ शय्याको स्वीकृति लिएर सञ्चालनमा आएको अस्पतालले सेवा विस्तारका लागि प्रदेशस्तरमा शाखा स्थापनाको तयारी पनि गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल प्राकृतिक चिकित्सक, अकुपञ्चरिस्ट, फिजियोथेरापिस्टसहित २५ कर्मचारी कार्यरत छन् ।