arrow

तीन वर्षमा नै चुनाव गर्न पैसा हुने सरकार कोरोनाको खोप किन्न चन्दा उठाउँदै

खोप कोषमा योगदान गर्न सार्वजनिक सूचना

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ १ बिहिबार
corona-donation-notice.jpg

काठमाडौं। संविधानमा नै पाँच वर्ष तोकिएको प्रतिनिधि सभालाई अल्पायुमै विघटन गरेर पुनः निर्वाचन गर्न अर्बौ रुपैयाँ खर्चिने तयार भएको सरकार कोरोना खोप किन्न भने चन्दा उठाउने तयारीमा लागेको छ । बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ खोपका लागि खोप कोषमा योगदान गर्न आह्वान गर्दै एक दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गरेको थियो ।

सो सूचना जारी भएलगत्तै निर्वाचन गर्न ठूलो रकम छुट्याउन सक्ने सरकार जनसरोकारका विषयमा भने चन्दा माग्न अघि बढेको भन्दै चौतर्फी आलोचना भएको छ । सामाजिक संजालहरुमा मन्त्रालयद्धारा जारी सूचना राखेरै व्यङ्ग्य गरिएको छ । 

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप करिब ७२ प्रतिशत नागरिकलाई लगाउने योजना रहेको बताएको छ । यो जनसंख्यालाई खोप लगाउन ४८ देखि ५० अर्ब रुपैयाँ लाग्ने अनुमान सहितको खाका स्वास्थ्य मन्त्रालयले बनाएको छ । 

स्वास्थ्य मन्त्रालयले सो बारेको जानकारी अर्थ मन्त्रालय समक्ष समेत पठाइसकेको छ । तर अर्थमन्त्रालयमा नै खोप किन्न आवश्यक पर्ने वजेट अनुमान सहितको जानकारी गराएको मन्त्रालयले एकाएक लक्षित समूहलाई निशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको र कोषमा योगदान गर्न भन्दै रकम जम्मा गर्ने खाता नम्बरसहितको सूचना जारी गरेको हो । 

सूचनामा दातृ निकाय, विदेशी, विभिन्न व्यवसायी एवम् सामाजिक र परोपकारी संस्थाहरुलाई तोकिएको खातामा रकम जम्मा गरी खोप कोषमा योगदान गर्न आग्रह गरिएको छ । ‘नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ कार्तिक २४ को निणर्य अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्वीकृत भएको खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणाली मार्फत लक्षित समूहहरुलाई निशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीका एवम् सामाजिक र परोपकारी संस्था एवम् परोपकारी संस्थाहरुलाई तोकिएको खातामा रकम जम्मा गरी खोप कोषमा योगदान गर्नका लागि नेपाल सरकार हार्दिक आहवान गर्दछ,’ स्वास्थ्य मन्त्रालयद्धारा बुधबार जारी उक्त सूचनामा भनिएको छ । 

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने सूचनाकै विपरित हाम्राकुरालाई प्रतिक्रिया दिए । उनले सरकारसँग नागरिकलाई खोप लगाउनका लागि रकम रहेको र पूर्ण तयारी पनि भइसकेको जानकारी दिए । ‘सरकारसँग नागरिकलाई खोप लगाउनका लागि आवश्यक पर्ने रकम छ र पूर्ण तयारी पनि भइसकेको छ, तर कतिपय विदेशी दातृ निकाय सहयोग गर्न चाहन्छन, त्यसका लागि सुचना निकालेर बाटो खोलिदिएका हौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले हाम्राकुरासँग भने ।

गौतमले कोरोना भाइरसको महामारीका कारण देशमा अचानक लकडाउन हुँदा व्यापार, व्यावसायहरु सबै ठप्प भएका बेला पैसा हुने दातृ निकाय एवं डेभलपमेन्ट पार्टनरहरुले सहयोग गर्दा बच्ने पैंसालाई अन्य उपयोगी काममा खर्च गर्न सकिने समेत बताए । तर खोप किन्न खोप कोषमा योगदान गर्न यसरी सूचना जारी गरेको मन्त्रालयलाई कति रकम उठ्न सक्ने अनुमान छ ? भन्नेबारे भने आफैंलाई जानकारी छैन । 

प्रवक्ता गौतमले भने,‘ यति नै पैंसा संकलन गर्ने कुनै लक्ष्य छैन ।’ मन्त्रालय द्धारा जारी सुचनामा संकलित रकम कोषमा जम्मा गर्ने दाताहरुहरुसँगै सहकार्य र समन्वय गर्दै परिचालन गरिने उल्लेख छ । कोषमा रकम जम्मा गर्न खातावालाको नाममा कोष तथा लेखा नियन्त्रण कार्यालय, त्रिपुरेश्वर उल्लेख गरिएको छ । यस्तै रकम राष्ट्रिय वाणिज्य बैंक टेकु शाखाको खातामा पठाउन सकिने भनिएको छ । दिइएको ठेगानामा कार्यालयको नाम स्वास्थ्य सेवा विभाग भनिएको छ । 

सरकारसँग विकल्प छ 
सरकारले पेट्रोलियम पदार्थ अन्तर्गत डिजेल र पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ जनताबाटै असुल्दै आइरहेको छ । यि पेट्रोलियम पदार्थ खरिद गर्दा हरेक खरिदकर्ताले सरकारलाई प्रतिलिटर ५ रुपैयाँ बुझाउँदै आइरहेका छन्। तर सो रकम कहाँ खर्च भइरहेको छ भन्ने लेखाजोखा नै छैन । सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माणका लागि भन्दै डिजेल र पेट्रोलमा सो रकम खरिदकर्तासँग उठाउँदै आएको हो । चन्दा उठाउन सूचना जारी गर्नुभन्दा खर्च हुन नसकेको सो रकम कोरोना खोपमा खर्च गरे उपयुक्त हुने सरोकारवालाहरु बताउँछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ