arrow

न्यायालयलाई यसो गर, उसो नगर भनेर दवाव दिन हुँदैन : देउवा

logo
प्रकाशित २०७७ माघ १ बिहिबार
deuba-congress1.jpg

पर्वत । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयलाई अनावश्यक दवाव दिन नहुने बताएका छन् । ‘न्यायालयलाई यसो गर, उसो नगर भनेर दवाव दिन हुँदैन’, उनले भने, ‘अदालतले विवेक प्रयोग गर्ने नै छ । अदालतमा विचाराधीन मुद्दामा धम्क्याउने र तर्साउने काम गर्न हुँदैन ।’

न्यायालयमा विचाराधीन रहेको संसद् विघटनको मुद्वामा कांग्रेसले पनि कुनै दवाव नदिने स्पष्ट पारे । सभापति देउवाले प्रतिनिधिसभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा आफूलाई विश्वास नलागेको उल्लेख गरे ।

पर्वतको शंकरपोखरीमा शहीद हरिदत्त तिवारी स्मृति भवन उद्घाटन गर्दै उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको बताए । सभापति देउवाले जनअपेक्षा अनुसार ओली सरकारले काम नगरेको आरोप लगाए ।

उनले आफूलाई भेट्न बुधबार साँझ नेकपा प्रचण्ड- मधव समुहका अध्यक्षद्वय आएको स्वीकार गरे ।  देउवाले नेकपा दुई भागमा विभाजित जस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने बताए । उनले प्रहरी तथा कर्मचारीले गाउँगाउँका कांग्रेस कार्यकर्तालाई दुःख दिने गरेको भन्दै आलोचना गरे । उनले पार्टीलाई बलियो बनाउँदै देश विकासमा लाग्नुपर्नेमा जोड दिए ।

कांग्रेस नेता गोपालमान श्रेष्ठले शहीद तिवारीको योगदानबाट सबैले पाठ सिक्नुपर्ने उल्लेख गरे । केन्द्रीय सदस्य अर्जुन जोशीले आफूलाई पदको लोभ नभएको भन्दै पार्टीलाई सशक्त बनाउनु आफ्नो प्राथमिकता भएको बताए ।

शहीद हरिदत्त तिवारीको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा २ तले भवन निर्माण गरेको प्रतिष्ठानका मुख्य संरक्षक, कांग्रेस महासमिति सदस्य एवं केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारीले जानकारी दिए ।

२०६० साल माघ १ गते सशस्त्र माओवादी समूहले नेपाली कांग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापतिसमेत रहेका हरिदत्तको हत्या गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ