arrow

कोरोना भाइरस एकपटक लागेको व्यक्ति कम्तीमा पाँच महिना सुरक्षित 

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । विश्वभर २० लाख भन्दा बढीको ज्यान लिएको कोरोना भाइरसको महामारी अझै रोकिने स्थिति देखिएको छैन । तर ६ करोड ६७ लाख ९४ हजार भन्दा बढीलाई निको पनि भएको छ । 

एक अनुसन्धानअनुसार एक पटक कोरोना संक्रमित भएको व्यक्तिलाई कम्तीमा पाँच महिनासम्म फेरि कोरोना लाग्ने छैन । बेलायतको पब्लिक हेल्थ इङ्गल्याण्डले उक्त अनुसन्धान बाहिर ल्याएको हो । 

वैज्ञानिकहरुले कोरोना भाइरस संक्रमण हुने सम्भावना कहिल्यै संक्रमण नभएका व्यक्तिको दाँजोमा एक पटक संक्रमित भएका व्यक्तिलाई ८३ प्रतिशतले कम हुने पत्ता लगाएको बीबीसीले लेखेको छ । 

तर विज्ञहरुले कोरोना भाइरसको संक्रमण दोहोर्‍याएर हुनसक्ने र अरुलाई सार्न सक्ने सम्भावना रहेको बताउँदै कोरोनाको चुनौती बढी नै रहेको बताएका छन् । 

नयाँ अध्ययनको नेतृत्व गरेकी प्राध्यापक सुसन हप्किन्सले अध्ययनको नतिजाले निको भएका संक्रमितहरु यसअघि सोचिए भन्दा लामो समय बच्न सक्ने बताइन् । यसको अर्थ दोहोर्याएर कोरोना हुनै नसक्ने भन्ने नभएकोले सुरक्षाका उपायहरु अपनाउन पर्ने उनले बताइन् ।

उनले पुनः संक्रमित भएका केहीमा लक्षण नदेखिए पनि भाइरसको मात्रा ज्यादै धेरै भएको र अरूलाई सार्न सक्ने देखिनु चिन्ताको विषय भएको बताइन् ।

उनले भनिन्, ‘यसको अर्थ तपाईलाई संक्रमण भइसकेको छ भने फेरि गम्भीर खालको संक्रमण नहुने सम्भावना ज्यादा भएको विश्वास गर्न सक्नुहुन्छ तर तपाई संक्रमित हुनसक्ने र अरुलाई सार्न सक्ने सम्भावना भने हुन्छ ।’

इङ्गल्याण्डको पब्लिक हेल्थले सन् २०२० को जुनदेखि नोभेम्बरसम्म बेलायतका झन्डै २१ हजार स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण भएको हेर्न गरिएको नियमित परीक्षणको नतिजालाई आधारमा राखेर निष्कर्ष निकालेको हो । 

तीमध्ये पहिले संक्रमण नभएका व्यक्तिहरुमध्ये ३१८ जनालाई संक्रमण भएको र संक्रमित भएर निको भएका ६ हजार ६१४ जनामध्ये ४४ जनालाई मात्रै फेरि संक्रमण भएको थियो । 

वैज्ञानिकहरुले ती स्वास्थ्यकर्मीहरुको स्वास्थ्य अवस्थाको एक वर्षसम्म अध्ययन गर्नेछन् । उनीहरुले भाइरसको नयाँ प्रकार र खोपको प्रभावकारिताको पनि अध्ययन गर्नेछन् ।

लेस्टर विश्वविद्यालयकी भाइरस विज्ञ डा. जुलियन टाङ्ले यो नतिजा स्वास्थ्यकर्मीहरुका लागि सकारात्मक भएको बताएकी छिन् । उनले कोरोना भाइरस लागिसकेका व्यक्तिले खोप लिन हुने र प्राकृतिक रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने समेत जनाएकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ