arrow

आइतबारसम्मै मौसममा बदली, यस्तो छ देशभरको अवस्था 

logo
प्रकाशित २०७७ माघ २ शुक्रबार
weather-final.jpg

काठमाडौं । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । 

“तत्कालै ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन”, मौसमविद् पोखरेलले भनिन् । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने बताइएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । 

दिउँसो प्रदेश नं १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तापक्रम
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार  काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको तापक्रम माइनस १ डिग्री सेल्सियस रहेको छ । 

न्यूनतममा सबैभन्दा धेरै भैरहवाको १० डिग्री सेल्सियस रहेको छ । जनकपुर र भैरहवामा ९.५ डिग्री तापक्रम रहेको छ । 

बिहीबार सबैभन्दा बढी दिपालयमा २२.९ डिग्री रहेको थियो । काठमाडौंको तापक्रम १८.२ डिग्री रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ