arrow

नौमुली बारेकोटमा तीर्थालुको घुइँचो 

logo
लोकेन्द्र विश्वकर्मा,  
प्रकाशित २०७७ माघ ४ आइतबार
9mule-jajarkot.jpg

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका ६ मा अवस्थित नौ वटा मुल भएको नौमुली मन्दिरमा यस वर्ष तीर्थालुको घुइँचो लागेको छ । माघी पर्वको अवसरमा नौमुलीमा तीर्थालुको बाक्लो उपस्थिति भएको हो । 

हरेक वर्ष माघ १ गते अर्थात् माघी पर्वमा त्यहाँका स्थानीयहरु बिहानै गाउँभित्र भाले बासेको पहिलो प्रहरमा सबै स्थानीयहरु नुहाउन नौमुलीतर्फ लाग्ने गरेका छन् । 

नौमुलीबाट नुहाएर आइसकेपछि आफनो छोरी चेलीहरुको हातबाट टिका थापी दक्षिणा दिने, मिठो मिठो परिकारहरु तरुल, गञ्जी, पिडालु, लगायतका फलफुलहरु खाएर उक्त माघेसंक्रान्ति मनाउने चलन रहेको स्थानीय कालीबहादुर कार्कीले बताए । 

“नौमुलीमा माघी नुहाउन बारेकोटका स्थानीय मात्र होइन, जुम्ला, डोल्पा, हुम्ला, कालिकोट, रुकुमपश्चिम, लगायतका स्थानहरुबाट भक्तजनहरुको बाक्लो जमघट भएको हुन्छ” उनले भने । 

नौमुली मन्दिरमा नुहाउन पुग्दा, सोचेका सपनाहरु पुरा हुने धार्मिक रुपमा बिश्वास मानिएको छ । पहाडबाट निस्कने सुकिला दन्तझै मनमोहक नौवटा मुलहरु भएको अग्लो झरना नौमुली माघी पर्वमा निकै भक्तजनहरुको रोजाईमा परेको तीर्थ स्थलका रुपमा परिचित छ । नौमुली मन्दिरलाई स्थानीयहरुले देउराली मन्दिर पनि भन्ने गरेका छन् । 

नौमुलीमा तीर्थालुको बाक्लो उपस्थिती भएपनि संरक्षणमा भने संघ, प्रदेश र स्थानीय सरकारहरुको नजर पुग्न सकेको छैन । संरक्षणमा जोड दिए जिल्लाको निकै ठूलो धार्मिक स्थलका रुपमा परिचित हुने स्थानीयहरुको गुनासो रहेको छ । 

पराम्पराकालमा ताँसीका मनबहादुर बिकले बनाएको सानो मन्दिरलाई  गत वर्ष स्थानीय कार्कीगाउँका समाजसेवी डम्बरबिक्रम कार्कीले मन्दिर, घण्टा झुल मुर्तिहरु सहित मन्दिरको रौनक फेरि दिएका छन् । 

साथमा मन्दिरसँगै टाँसिएको शिलालेख निर्माणसमेत गरेका छन् । उक्त शिलालेखमा लेखिएको छ, ‘बारेकोट गाउँपालिका ६ कार्कीगाउँको कार्कीमुखिया स्वर्गीय जगविर कार्कीको सम्झनामा छोरा कालीबहादुर कार्की नाति डम्बरबिक्रम कार्कीद्धारा  निर्मित श्री देउराली मन्दिर ।’ उक्त मन्दिर निर्माण गर्न करिब २ लाख ५० हजार लागत लागेको उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ