arrow

नेकपाका दुबै समूहबाट कांग्रेसलाई मुख्यमन्त्रीको अफर 

प्रदेश १ मा बसे लगत्तै स्थगित भयो प्रदेश सभा बैठक, बागमतीमा पनि आज औपचारिकता मात्रै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ माघ ७ बुधबार
nc-party-office.png

काठमाडौं। प्रतिनिधि सभा विघटन पछि नेपाल कम्युनिष्ट पाटी नै विभाजनमा पुगेका बेला नेकपाका दुबै समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रदेश छानेर मुख्यमन्त्री लिन अफर गरेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली समूह तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूह दुबैले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रदेश सरकारमा छानेर नेतृत्व लिन आग्रह गरेपछि देउवाले पार्टी भित्र छलफल अघि बढाउँदै आइरहेका छन् । 

सभापति देउवाले बुधबार बिहान प्रदेश सरकारका विषयमा प्रदेश १ का नेताहरुसँग छलफल गरेका छन् । यस्तै ९ माघमा बागमती प्रदेशका नेता तथा सांसदहरुसँग छलफल गर्दै छन् । 

नेकपाको प्रचण्ड-माधव समूहबाट हालसम्म प्रदेश १ र बागमति प्रदेशका मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । यि दुबै प्रदेशमा ओली निकट मुख्यमन्त्री छन् भने अविश्वासको प्रस्ताव अघि बढ्दा कांग्रेस निणर्यक रहन्छ ।  

प्रदेश १ मा आज (बुधबार) नै प्रदेश सभा बैठक बोलाइएकोमा एक मीनेट मात्रै बसेर स्थगित भएको छ । बागमती प्रदेशमा पनि आजै अविश्वास प्रस्तावबारे प्रदेश सभामा छलफल हुने कार्यसूची छ । तर बैठ औपचारिक रुपमा सुरु गरेर समापन गर्ने तयारी हुँदैछ । 

देउवाले दुबै समूहबाट आएको प्रस्तावका विषयमा गत ५ माघमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग समेत छलफल गरेका थिए । उनले बोहोराटारस्थित पौडेल निवासमै पुगेर नेता पौडेललाई भेटेका थिए । 

यसैगरी गत २ माघमा महामन्त्री डा. शशांक कोइरालालाई समेत बुढानिलकण्ठस्थित निवासमा बोलाएर देउवाले प्रदेश सरकारमा गरिने सत्ता समिकरणका बारे छलफल गरेका थिए । 

महामन्त्री कोइरालासँगको छलफलमा देउवाले एउटा प्रदेशमा प्रधानमन्त्री ओली निकट हाल कायम रहेका मुख्यमन्त्रीलाई सघाउने र अर्को प्रदेशमा नेतृत्व लिने तर्फ इच्छा देखाएको महामन्त्री निकट स्रोत बताउँछ । तर वरिष्ठ नेता पौडेलले भने संसद विघटनको अवैधानिक कदम चाल्ने ओली समूहसँगनै समिकरण गर्न अनिच्छुक देखिएका छन् । 

हाम्राकुरालाई प्राप्त सुचना अनुसार प्रधानमन्त्रीले प्रदेशमा हुने सत्ता समिकरणका लागि निरन्तर सभापति देउवासँग छलफल गर्न एक जना उच्च तहका नेतालाई खटाएका छन् । अर्को समूहबाट भने प्रचण्ड-माधव आफैंले देउवासँग प्रस्ताव गरिसकेका छन् । 

प्रधानमन्त्री ओली निकट नेता सुवास नेम्बाङले प्रदेश सरकारको समिकरणबारे कांग्रेससहितका प्रतिपक्षी दलसँग निरन्तर संवाद भइरहेको जानकारी दिए । ‘हामी निरन्तर संवादमा नै छौं, कांग्रेससहित प्रतिपक्षमा रहेका दलसँगको संवाद निरन्तर छ, निणर्य आइसकेको छैन,’ नेकपा नेता नेम्बाङले हाम्राकुरासँग भने । 

कांग्रेसले भने नेकपाका दुवै समूहले मुख्यमन्त्री भागबण्डा गरेर गठबन्धन गर्न औपचारिक प्रस्ताव आए पनि निणर्य भने गर्न सकेको छैन । 

तर, कांग्रेसले १ नम्बर प्रदेशभन्दा बाग्मती प्रदेशको मुख्यमन्त्रीमा इच्छा देखाएको छ । सो प्रदेशमा संसदीय दलका नेता इन्द्र बानियाँ छन् । उनी सभापति देउवा निकट हुन् । 

कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले भने अविश्वासको प्रस्ताव टेबल भएपछिको अवस्थामा कांग्रेस अन्तिम समयमा मात्रै खुल्ने बताए । ‘कांग्रेसले अहिले नै केही गर्दैन, मतदानको समय आउँदा के गर्ने भन्ने निणर्य हुन्छ,’ सहमहामन्त्री महतले हाम्राकुरासँग भने ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ