arrow

बागमती प्रदेशका मुख्यमन्त्री बिरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश

१९ माघबाट छलफल हुने

logo
रबिन्द्र गौतम,
प्रकाशित २०७७ माघ ९ शुक्रबार
dormani.jpg

 हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड-माधव समूहले दर्ता गराएको अविश्वास प्रस्ताव प्रदेशसभा बैठकमा पेश भएको छ ।  भर्खरै सुरु प्रदेश सभा बैठकमा मुख्यमन्त्री पौडेल बिरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो । नेकपाका सांसद तथा उद्योग, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरेका हुन ।

बागमती प्रदेशमा नेकपाको प्रचण्ड-माधव समूहका ४५ जना सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।  बागमती प्रदेशमा १ सय १० जना सदस्य छन भने सरकार बनाउन ५६ जनाको बहुमत आवश्यक पर्छ । सो प्रदेशमा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपा र नेपाल मजदुर किसान पार्टीका २/२ र स्वतन्त्रबाट १ जना सदस्य छन । नेकपाका ८० मध्ये प्रचण्ड-माधव समूहका ४६ र ओली पक्षका ३४ जना छन ।

सांसद नेपालले प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव पेश गर्दै मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको सुनाएका छन ।

अविश्वासको प्रस्तावमा मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा जनताको पक्षमा कुनै काम गर्न नसकेको, कोरोना महामारीमा जनताको पक्षमा काम गर्न नसकेको र पार्टी हित विपरीत गतिविधि गरेको लगायतका आरोप लगाइएको छ ।

प्रदेश सभामा पेश भएको अविश्वासको प्रस्तावमाथि १९ माघबाट छलफल हुने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ