arrow

केपीसँग झुक्ने काम हुँदैन : माधव नेपाल

लोकतन्त्र पक्षधर शक्तिलाई आन्दोलनमा सहकार्य प्रस्ताव

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
madhav-kumar-nepal-protest-2021.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधव नेपालले असंवैधानिक रुपमा संसद विघटन गरेर ‘कु’ गर्ने केपी ओलीसँग झुक्ने काम नहुने बताएका छन ।  शुक्रबार काठमाडौंमा आयोजित पार्टीको विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मूल्य र विचार नमान्ने केपीसँग अब नझुक्ने बताए ।
 
‘हामी मुल्यको राजनीति गर्छौ, विचारको राजनीति गर्छौ, पार्टीको विधान नमान्ने देशको संविधान नमान्ने र मूल्य र विचार नमान्ने अनि संविधानमाथी कु गर्ने ओलीसँग अब झुक्ने काम हुँदैन,’ अध्यक्ष नेपालले विरोध सभालाई सम्बोधन गर्ने क्रममा भने ।

अध्यक्ष नेपालले ओलीले सधै हैरान बनाउने काम गरेको र दुःख मात्रै दिएको भन्दै आफूले धेरै सम्झाउँने प्रयत्न गरेको तर नसकेको बताए ।  प्रधानमन्त्री ओलीले लामो संघर्षबाट बनेको संविधान र त्यसले व्यवस्था गरेको राजनीतिक स्थिरता तथा विधिको शासनमाथिको अभ्यासमाथि नै प्रहार गरेको र देशलाई फेरी अस्थिरतातर्फ अघि बढाउन संसद विघटन गरेको जिकिर गरे ।

प्रत्येक व्यक्ति पार्टी भित्र विधान मान्ने र संविधानको अधिनमा रहेको तर ओलीले पार्टीको विधानलाई समेत पटक पटक लत्याएको आरोप लगाए ।  पार्टीका निमित्त धेरै कुरा सहेर अघि बढ्दा पनि ओली नसच्चिएपछि पार्टी भित्र कलह बढेको र त्यसको रिस उनले संसद माथि पोखेको अध्यक्ष नेपालले दाबी गरे ।  कतिपयले गणतन्त्र विरोधी ओलीलाई किन प्रधानमन्त्री बनाएर गल्ति गरेको भन्ने गरेको भन्दै उनले सच्चिने आशामा ओलीलाई प्रधानमन्त्री बनाइदिएको तर उनी नसच्चिएको भन्ने गरेको बताए ।

ओलीसँग अहिले साइबर सेना र अरिंगाल मात्रै बाँकी रहेको समेत जिकिर गरे । आफूले २०४७ सालमा निर्वाचन आयोग गएर पार्टीको चिन्ह सूर्य ल्याएको भन्दै अहिले पनि सूर्य चिन्ह आफूहरुकै हुने दाबी गरे ।

अध्यक्ष नेपालले लोकतन्त्र प्रति प्रतिबद्ध सबै शक्ति एक भएर संसद विघटन बिरुद्धको आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन समेत सबै दलसँग अपील गरेका छन । एकताबद्ध ढंगबाट अघि बढ्दा संसस पुर्नस्थापना भएरै छाड्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ