चुनावबाट भाग्न मिल्दैन तर चुनाव समस्याको समाधान होइन : नेता महतो
प्रकाशित २०७७ माघ ९ शुक्रबार
745
Shares
राजविराज । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रमा चुनावबाट भाग्न नमिल्ने बताएका छन् ।
सप्तरीको राजविराजमा शुक्रबार प्रेस मञ्च र प्रेस नेपाल सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला आफूहरूलाई मान्य हुने बताउँदै निर्वाचनबाट भाग्न नचाहेको प्रस्ट पारे ।
उनले वैकल्पिक शक्तिका रूपमा जनता समाजवादी पार्टीको उदय भएको भन्दै यही पार्टीले हिमाल, पहाड र मधेशको हित गर्ने कुरा आमजनताले अनुभूति गरिरहेकाले जनलहर बढेको दाबी गरे ।
प्रतिनिधिसभा पुनःस्थापना नै वर्तमान राजनीतिक समस्याको निकास रहेको बताउँदै अदालतबाट यो समस्याको निकास पाउने र संविधान एवं लोकतन्त्रको पक्षमा निर्णय आउनेमा आफूहरु आशावादी रहेको नेता महतोले विश्वास व्यक्त गरे ।
सम्मानित अदालतको फैसला आफूहरुलाई मान्य हुने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई विफल पार्ने प्रयास भइरहेकाले हामीले त्यसका विरुद्ध आवाज उठाएका हौँ, लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन तर चुनाव समस्याको समाधान होइन, देशमा फेरी अर्को सङ्कट निम्तिने खतरा निम्तिन सकिने उनले उल्लेख गरे ।