arrow

प्रधानमन्त्रीको अभिब्यक्तिले कानुन व्यवसायीहरुमा खैलाबैला, सार्वजनिक माफी माग्नुपर्ने माग 

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
kp_oli3.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘छुद्र अभिव्यक्ति’का कारण कानुन व्यवसायीहरुमा खैलाबैला मच्चिएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘बुढा मान्छेलाई अदालतमा लगेर तमासा देखाएको’ भनी टिप्पणी गरेको विषयलाई लिएर अधिवक्ताहरु आक्रोशित बनेका हुन ।

आइतबार इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीले पटक पटक अदालतमाथि प्रश्न उठाएको र अपहेलना गरेको भनि प्रश्न उठाएपनि इजलासले वास्ता नगरेपछि अधिवक्ताहरुमा आक्रोश बढेको हो । 

संवैधानिक इजलाशमा उपस्थित भएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई नाम नलिइकन प्रधानमन्त्री ओलीले ‘तमासा देखाउन गएका बाजे’ पनि भनेका थिए। प्रधानमन्त्रीले बहसमा सहभागी वरिष्ठ वकिलहरुलाई दुर्मुखा भन्दै आलोचना गरेका थिए।

सोही विषयलाई लिएर नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले पदाधिकारिहरुको छुट्टाछुट्टै बैठक डाकेर छलफल सुरु गरेको छ ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक र कानुन व्यवसायीको पेशागत मर्यादामाथिको प्रहार हो,’ भन्दै उनीहरु ओलीमाथि एक्सनमा जाने तयारीमा रहेको बुझिएको छ ।

यसअघि पनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटहरु खारेज गरिदिनुपर्ने भनेर अभिव्यक्ति दिएका थिए । 

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएर अदालतको अपमान गरेको कानुन व्यवसायीहरुको भनाइ थियो ।

नेपाल वार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आइतबार संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति कानुन व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको बताएका छन् ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन् ,प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत् उहाँलाई जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ