arrow

पशुपतिको शरणमा प्रधानमन्त्री

विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरे ओलीले 

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
kp-oli-pashupati.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् । धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब ८ बजे पशुपतिनाथ मन्दिर पुगेका ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । 

सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् । 

सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी भएका थिए । 

पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए । 

विशेष पूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद लगाइदिएका थिए । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी भएको कोषले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ