arrow

पूर्व एमाले हावी हुने भएपछि प्रचण्ड नयाँ रणनीतिमा

पूर्व माओवादी नेता वैद्यदेखि भट्टराईसम्मलाई एक ठाउँमा ल्याउने गृहकार्य गर्दै प्रचण्ड

logo
प्रकाशित २०७७ माघ १२ सोमबार
prachanda23.jpg

काठमाडौं । नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र पूर्व एमाले हावी हुने संकेत देखिएपछि माओवादीका पूर्व नेताहरु मोहन वैद्य देखि बाबुराम भट्टराई सम्मलाई पार्टीभित्र ल्याउन कोसिश थालेका छन् । पार्टीका अध्यक्ष माधव नेपाल संयोजकत्वमा बनेको पार्टी एकिकरण सम्बन्धी १२ सदस्यीय कार्यदलले तत्कालिन समयमा पार्टी एकताको बेला पूर्व एमाले र पूर्व माओवादीहरुले संयोजन गरेको नेतृत्वलाई यथावत राख्नेगरी मापदण्ड तयार भएपछि प्रचण्ड सशंकित भएर पूर्व माओवादीका नेताहरुलाई पार्टीमा भित्र्याउने गुप्त खेलमा लागेका हुन् ।

प्रचण्ड निकट विशेष स्रोतका अनुसार मोहन वैद्य निकटका नेताहरुसँग प्रचण्ड निरन्तर छलफलमा रहेका छन् । ‘वैद्य निकटका नेताहरुसँग प्रचण्डले छलफल गरिरहनुभएको छ । पार्टी प्रवेश लगायतको विभिन्न विषयहरु भएको महशुस भएको छ,’ प्रचण्ड निकट एक नेताले भने । 
तत्कालिन एमालेसँगको एकिकरणपछि पनि प्रचण्डले आफू निकटका नेताहरुलाई पार्टी प्रवेश गराएर आफ्नो भागमा परेको २ सय केन्द्रीय सदस्यबाट २ सय पाँच पुर्याएका थिए । अहिले पनि मोहन वैद्यसँग भएका नेताहरुलाई पार्टीभित्र प्रवेश गराएर प्रचण्डले माधव नेपाललाई अल्पमतमा पार्ने कोसिस गर्न खोजेको आभास हुन थालेको एक नेताले बताए ।

नेपाल संयोजकत्वमा रहेको कार्यदलले बनाएको मापदण्डलाई कार्यान्वयन गर्दा पार्टी उपाध्यक्ष, महासचिव, बहुमत सचिवालय सदस्य, प्रदेश इन्चार्ज, केन्द्रीय सदस्यदेखि जिल्ला कमिटीसम्म पूर्व एमालेहरुको हावी हुने देखिएपछि प्रचण्डमा छटपटी शुरु भएको थियो । आफू निकटका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणी थापा, गौरीशंकर चौधरी, दावा लामा बालकृष्ण ढुंगेल लगायतका नेताहरु ओली समूहमा लागेपछि प्रचण्डले मोहन बैद्यको साथ खोजेको स्रोतको दावी छ ।

त्यतिमात्र होइन जनजाती तथा मधेशी धारका नेताहरुलाई समेत पार्टीमा भित्र्याउने उनको कोसिस रहेको छ । त्यसकै लागि प्रचण्डले एक सातादेखि जनता समाजवादी पार्टीका अध्यक्ष वावुराम भट्टराईसँग उपराष्ट्रपति नन्दकिशोर पुनको सरकारी निवासमा भेटघाट गरिरहेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष भट्टराईबीच गोप्य भेटघाट भएपनि भेटमा के के कुराकानी भए भन्ने बारेमा उनले माधव नेपाललाई समेत केही बताएका छैनन् । उपराष्टपति नन्दकिशोर पुनको सरकारी निवासमा उनीहरुबीच शुक्रबार भेटघाट भएको समाचार शुक्रबार नै बाहिरिएको थियो । तर एक सातादेखि नै उनीहरुको भेटघाट भएको सुरक्षा स्रोतको दावी छ ।

शुक्रबार भने भृकुटीमण्डपमा भएको आमसभालाई सम्बोधन गरेपनि दाहाल उपराष्टपति निवासमा पुगेका थिए । त्यहाँ उनले बाबुराम भट्टराइसँग करिब एक घण्टा कुराकानी गरेको स्रोतको दावी छ । संसद पुर्नस्थापना र ओली सरकारको बर्हिगमनका लागि दुवै अध्यक्षहरुले संयुक्त आन्दोलन गर्ने विषयमा कुराकानी भएको स्रोतको दावी छ । यद्यपि नेपाल दाहाल समूहमा पूर्व एमालेहरु हावी हुने अवस्था आउने भएपछि प्रचण्डले भट्टराई पार्टी प्रवेश गराउने सोचका साथ अघि बढेको आशंका राजनीतिक वृत्तमा गर्न थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ