arrow

नेपालमा कोरोना खोपको शुरुवात

logo
हाम्राकुरा डेस्क, 
प्रकाशित २०७७ माघ १४ बुधबार
corona-vaccine-covid19.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीविरुद्धको खोप बुधबारदेखि लगाइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे खोप अभियानको शुभारम्भ गर्दैछन् । उनले भर्चुअल माध्यमबाट खोपको शुभारम्भ गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 

उनले पहिलो दिन बुधबार ६० जिल्लाका १२० बढी केन्द्रबाट अग्रपंक्तिमा रहेर भूमिका खेलेकालाई खोप लगाइने बताए । उनले भने, ‘हामीसँग १० लाख डोज खोप छ । ४ लाख ३० हजारदेखि ४ लाख ६० हजार जना सम्मलाई खोप लगाउनु पुग्छ ।’

उनका अनुसार १८ गतेभित्रमा सबै जिल्लामा खोप लगाउन थालिने छ । १० दिनभित्र कोरोना भाइरस विरुद्धको अभियानमा अग्रपंक्तिमा रहेर खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक लगायतलाई खोप लगाइने बताए । 

यो खोप दुई चरणमा लगाइने छ । २८ दिनको फरकमा दोस्रो डोज खोप लगाइने भए पनि दिनको सजिलोका लागि नेपालमा माघ १४ गते लगाउनेलाई फागुनको १४ गते दोस्रो डोज लगाइने डा. गौतमले बताए । पाखुराको मांसपेशीभित्र खोप लगाइने छ । 

को हुन् अग्रपंक्तिमा खोप लगाउन पाउनेहरु ?
कोरोना भाइरसको महामारीविरुद्ध जुध्नेहरु नै अग्रपंक्तिका हुन् । उनीहरु पहिलो चरणमा परेका छन् । तिनीहरुमा फोहोरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश बिन्दूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइने छ ।

खोपको विश्वसनीयता 
खोप सबैचिज हैन । खोप लगाउँदैमा सबै ठीक भन्ने पनि हैन । तर भारतको अनुदानमा आएको १० लाख खोप कोभिशिल्ड विश्वसनीय मानिन्छ । यो खोप ७० देखि ९० प्रतिशतसम्म विश्वसनीय छ ।  

कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालयले पत्ता लगाएर भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो । भारतसहित नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स लगायतका देशमा यो खोप लगाउन थालिसकिएको छ । 

के छ यसको साइड इफेक्ट ? 
डा. गौतमका अनुसार यो खोप लगाइसकेपछि शरीर चिलाउने, एलर्जी हुन सक्ने, खोप लगाएको स्थानमा सामान्य इन्फेक्सन हुने सम्भावना छ । तर त्यसले असर नगर्ने उनको दाबी छ । 

यसबाट ज्वरो पनि आउन सक्छ । तर सामान्य औषधिले नै यो एक हप्तासम्ममा ठीक हुने चिकित्सकहरु बताउँछन् । 

कतिपय चिकित्साकर्मीहरु खोप लगाउन संकुचित भइरहेको अवस्था छ । उनीहरुलाई समेत कुनै आशंका नगरी खोप लगाउन डा. गौतमले आग्रह गरेका छन् । उनले भने, ‘यो खोप सुरक्षित भेटिएको छ । म अनुरोध गर्छु ढुक्कसँग खोप लगाउनुस् । कुनै असर गर्दैन ।’

यो खोप कसले लगाउन हुँदैन ?
हैन । यो खोप सबैले लगाउन मिल्दैन । परीक्षण गरिएअनुसार यो १८ वर्षभन्दा माथि उमेरकालाई लगाइन्छ । यो खोपको परीक्षण १८ वर्ष भन्दा कम उमेरकामा नगरिएका हुनाले विश्वभर कतै पनि १८ वर्षभन्दा कम उमेरकालाई खोप लगाइएको छैन । 

त्यसैगरी यो खोप गर्भवती महिलालाई लगाइँदैन । डा. गौतमका अनुसार गर्भ हुन लागेका महिलालाई पनि यो खोप लगाइँदैन । 

त्यसैगरी जटिल खालको एलर्जी भएका बिरामीलाई पनि यो खोप लगाउन मिल्दैन ।  

नेपालीहरु सबैको पालो कहिले ? 
डा. गौतमका अनुसार विश्वका दुई सय भन्दा बढी देशमा खोप लगाउनु पर्नेछ । त्यसैले विश्वको जनसंख्याको १० प्रतिशतलाई पनि खोप बनेको छैन । 

प्राथमिकताका आधारमा खोप लगाउँदै जाने उनले बताए । अहिले भारतले अनुदानमा दिएको खोप मात्रै १० लाख हो । यसबाट ४ लाख ३० हजारदेखि ४ लाख ६० हजार नेपालीलाई मात्र खोप लगाउन मिल्छ ।   

पहिले २० प्रतिशत जनसंख्यालाई खोप लगाइने छ । पहिलो प्राथमिकतामा ९ लाख जनसंख्या रहेका छन् । बाँकीले क्रमशः लगाउँदै जाने पनि डा. गौतमले बताए । 

खोप किन्ने प्रक्रियामा रहेको बताए पनि अहिलेसम्म नेपालले कहाँबाट कसरी खोप किन्दैछ भन्नेबारेमा यकिन भइसकेको छैन । 

भारतबाटै खोप किन्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सर्तहरु मान्न तयार रहेको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग बताइसकेका छन् । 

अन्य देशहरुसँग पनि कुराकानी भइरहेको बताइएको छ । 

काठमाडौं उपत्यकामा कहाँ कहाँबाट लगाइँदैछ खोप ?
काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं मेडिकल कलेज जोरपाटी, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र, सशस्त्र प्रहरी बलम्बु अस्पताल, शहीद गङ्गालाल अस्पताललगायत छन् । ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् । 

के छ नेपालमा कोरोनाको अवस्था ? 
नेपाल विश्वको ४४ औं पीडित राष्ट्र हो । मंगलबार (माघ १३ गते) सम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७० हजार ९२ रहेको छ । 

अहिलेसम्म २ हजार १७ जनाले ज्यान गुमाएका छन् । यद्यपि यो आँकडा भने नेपाली सेनाको आँकडासँग झण्डै एक हजारले मिल्दैन । 

सेनाले कोरोनाबाट ज्यान गुमाउनेको शव व्यवस्थापनको जिम्मा लिएकाले उसले दुई महिनाअघि नै थप एक हजार बढीको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समावेश नगरेको जानकारी दिएको थियो । 

मन्त्रालयले पनि आँकडा अपडेट गर्ने जनाएको थियो । तर अहिलेसम्म यसमा चाँसो दिइएको छैन । 

२ लाख ६४ हजार ८२३ जना कोरोनामुक्त भएका छन् ।

यो ९८ प्रतिशत हो । हाल ३ हजार २५२ जना सक्रिय संक्रमित छन् । हाल आइसीयू र भेन्टिलेटरमा रहनेहरु धेरै छन् । 

पछिल्लो समय परीक्षण नै निकै कम भएकाले पनि संक्रमित घटेको अनुमान गरिएको छ । 

सरकारले निःशुल्क परीक्षण नगरिदिने, वर्ग विशेषका आधारमा परीक्षण गरिदिने, कन्टयाक्ट ट्रेसिङमा ध्यान नदिने गर्नाले पनि यथार्थ विवरण नआएको बताइन्छ । 

आफूलाई भयो भने परिवारमा सबैलाई छुट्टाछुट्टै राख्नुपर्ने, घुलमिल हुन नपाइने, यसको विशेष उपचार छैन जस्ता विचार मनमा ल्याएर पनि बेसार पानी खाएरै उपचार नगराइ बस्नेहरु धेरै पाइएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ