arrow

तीन महिनाभित्रै सम्पूर्ण नेपालीलाई निःशुल्क कोरोना खोप लगाइने छ – प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७७ माघ १४ बुधबार
corona-vaccine-pm-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्रै सम्पूर्ण नेपालीलाई कोरोना भाइरसको खोप लगाइसक्ने बताएका छन् । कोरोना भाइरस विरुद्धको खोपको अभियान शुभारम्भ गर्ने क्रममा बुधबार ओलीले उक्त दावी गरेका हुन् । उनले भने, ‘तीन महिनाभित्रै सम्पूर्ण नेपालीलाई खोप लगाइने छ । मलाई लाग्छ तीन महिना लाग्नेछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट देशभरका खोप केन्द्रमा एकसाथ शुभारम्भ गरेसँगै मन्तव्य राख्ने क्रममा उक्त दाबी गरेका हुन् ।

अहिले पहिलो चरणमा अग्रपंक्तिमा रहेर काम गर्नेलेमात्र खोप लगाइरहेका छन् । स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक लगायत रहेका छन् । भारत सरकारले दिएको १० लाख खोपको अनुदानबाट अहिले झण्डै ४ लाख ३० हजार जनाले पहिलो चरणमा खोप लगाउँदैछन् । 

तर ओलीले भने तीन महिनाभित्र सबैले लगाइसक्ने दावी गरिदिएका हुन् । अहिलेसम्म बाँकी खोप ल्याइने प्रक्रिया थालिएको छैन । 

उनले भारतसँग भने पूर्वसर्तसमेत पालना गरी किन्न तयार रहेको बताएका छन् । 

खोप निःशुल्क सम्पूर्ण नेपालीलाई लगाइने पनि बताएका छन् । नेपाली जनताको जीवनरक्षाका लागि सबैमा यथाशीघ्र निःशुल्क लगाइने पनि बताए । 

उक्त भर्चुअल शुभारम्भ बुधबार नै शुरु भएका १२० केन्द्रमा देखाइएको थियो । पहिलो दिन नै १२ हजार जनालाई खोप लगाइने पनि जनाइएको छ । पहिलो खोप भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले लगाएका छन् ।

प्रधानमन्त्री ओलीले भारतबाट प्राप्त १० लाख खोपमार्फत लगाइएको खोपको शुभारम्भ गरेका हुन् । भारतप्रति उनले आभार पनि व्यक्त गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । 

छिट्टै भारतबाट थप खोप पनि पाउने उनले विश्वास गरेको बताएका छन् । 

ओलीले खोप लगाउन थाले पनि कोरोना नभागेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन् । खानपानमा समेत विशेष ध्यान दिन उनले आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ