arrow

प्रतिनिधि सभा निर्वाचन

नौ लाख नयाँ मतदाता थपिंदै

स्थानीय तहको केन्द्रमा गएर आजैबाट मतदाता नामावलीको त्रुटी पनि सच्याउन पाइने

logo
प्रकाशित २०७७ माघ १५ बिहिबार
election-commission-nepal.jpg

काठमाडौं । सरकारले १७ र २७ बैशाखमा गरी दुई चरणमा सम्पन्न गर्ने गरी घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनमा अघिल्लो निर्वाचनमा भन्दा करिब ९ लाख बढी मतदाता सहभागी हुने भएका छन् ।  विसं २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कूल १ करोड ५४ लाख मतदाताको अन्तिम नामावली प्रकाशन गरेको निर्वाचन आयोगले आगामी बैशाखमा हुने निर्वाचनमा १ करोड ६३ लाख मतदाताको नाम प्रकाशन गर्ने तयारी गरेको हो । यो संख्या अघिल्लो निर्वाचनमा भन्दा ९ लाखले बढी हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार अघिल्लो निर्वाचनमा भन्दा ९ लाख बढी मतदाताले मतदाता नामावलीमा नाम लेखाएको जानकारी दिए । ‘२०७४ सालको निर्वाचनमा १ करोड ५४ लाख मतदाता रहेकोमा अहिले मतदाता संख्या बढेर १ करोड ६३ लाख पुगेको देखिएको छ, पुरानो तथ्यांक हेर्दा नयाँ थप मतदाताको संख्या ९ लाख बढ्ने देखिन्छ,’ आयोगका प्रवक्ता श्रेष्ठले हाम्राकुरासँग भने ।

निर्वाचनको तयारीका लागि हाल आयोगले मतदाता नामावली अद्यावधिक गर्ने, मतदान केन्द्र र मतदान स्थल पुनरावलोकन गर्ने लगायतका काम गरिरहेको छ । आयोगले आउने निर्वाचनमा ९ लाख नयाँ मतदाता बढ्दै गर्दा विगतको निर्वाचनमा भन्दा मतदान केन्द्रसमेत थप गर्ने गरी तयारी गरेको हो ।

आयोगले ७७ वटै जिल्लामा गरिरहेको मतदान केन्द्र पुनरावलोकनको प्रारम्भिक तथ्यांक अनुसार पहिले भन्दा करिब १ हजार २ सयको संख्यामा नयाँ मतदान केन्द्र थप हुनेछ । २०७४ सालको निर्वाचनमा देशभर १९ हजार ८ सय मतदान केन्द्र थिए । नयाँ थप हुने मतदान केन्द्रसहित मतदान केन्द्रको संख्या २१ हजार पुग्ने आयोगको आँकलन छ ।

आयोगले २३ पुसबाटै जिल्लास्तरमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य सुरु गरिसकेको छ भने १७ माघमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । यस्तै मतदाता नामावलीमा भएको त्रुटी सच्याउन आयोगले मतदाता अद्यावधिक कार्यक्रमसमेत आज (बिहीबार) बाटै शुरु गर्दै छ । मतदाताहरुले आफ्ना स्थानीय तहको केन्द्रमा गएर मतदाता नामावलीमा भएको त्रुटी सच्याउन सकिने आायोगले जनाएको छ । जसअनुसार आफ्ना स्थानीय तहमा गएर मतदाताले २१ माघसम्म त्रुटी सच्याउन सक्ने छन् ।

आयोगका प्रवक्ता श्रेष्ठले आयोगले १५ माघदेखि २१ माघसम्म देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्न लागेको र ६ पुसअघि नामावलीमा नाम दर्ता गरेका मतदाताहरुले नाम अद्यावधिक गर्न सक्ने जानकारी दिए । निर्वाचनको मिति घोषणा भएलगत्तै आयोगले गत ६ पुसबाट नै मतदाता नामावली संकलनको काम भने स्थगित गरिसकेको छ । आयोगले नामावली अद्यावधिक गरेपछि अन्तिम नामावली प्रकाशन गर्ने छ ।

आयोगले गत ५ पुससम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले बैशाखका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन पाउने जनाएको छ ।

यसैगरी आयोगले निर्वाचनका लागि आवश्यक पर्ने मतपेटिका सहितका सामग्रीसमेत तयार गर्दैछ । गत २०७४ मा सम्पन्न निर्वाचनमा प्रयोग भएका मतपेटिकालाई नै आगामी निर्वाचनमा प्रयोग गरिने हुँदा मतपेटिकामा लाग्ने खर्च बचत हुने आयोगले बताएको छ । आयोगले यसपटक निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गर्दै आएको छ । यसअघि २०७४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ