arrow

कोरोना लडाइँमा खटिएका फ्रन्टलाइनरले लगाए खोप

logo
सौरभ गिरी,
प्रकाशित २०७७ माघ १५ बिहिबार
corona-vaccine-banke.jpg

नेपालगन्ज । बाँकेमा कोरोना विरुद्धको खोप लगाउने क्रम चलिरहेको छ । बुधबारदेखि खोप लगाउन सुरु गरिएको बाँकेमा बिहिबार नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुले खोप लगाइरहेका छन् ।

बुधबार भेरीका स्वास्थ्यकर्मीकर्मीबाट खोप लगाउन सुरु गरिएको थियो । मेडिकल कलेजका सहायक निर्देशक डा. नितेशकुमार कनोडिया, वरिष्ठ छाती तथा फोक्सो रोग विशेषज्ञ डा. सुभाष योगी, फिजिसियन डा.आसिम किदवाई, हाडजोर्नी विशेषज्ञ डा.गोपालसागर डिसी, प्रशासन अधिकृत कुमार अधिकारी लगायत अन्य चिकित्सक एवम् स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

मेडिकल कलेजका स्वास्थ्यकर्मी र सरसफाईकर्मीले बिहिबार र शुक्रबार खोप लगाउनेछन् । खोप लगाइसकेपछि प्रतिक्रिया दिँदै वरिष्ठ छाती तथा फोक्सो रोग विशेषज्ञ डा. योगीले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । 'फ्रन्टलाइनमा बसेर काम गरिरहँदा पहिलो चरणमै खोप लाउन पाएपछि खुशी छु,'डा.योगीले भने' खोप सुरक्षित छ, ढुक्क भएर लगाउनुस् ।'

 नेपालगन्ज मेडिकल कलेज, नरैनापुर, डुडुवा, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका ७ सय ५० जनालाई बिहिबार भेरी अस्पतालमा खोप लगाउने कार्यक्रम छ । स्वास्थ्य संस्था खाली नहुने गरी आधा आधा स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई खोप लगाउने तालिका बनाएका छौं, भोलि फेरि यी अस्पताल र पालिकाका बाँकि स्वास्थ्यकर्मी र सरसफाईकर्मीलाई खोप लगाउने लक्ष्य छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले भन्नुभयो। बुधबार पहिलो दिन भेरी अस्पतालका स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो । त्यहाँ कार्यरत ४ सय जनालाई खोप लगाउने भनिएपनि बुधबार १ सय २० जनाले मात्र खोप लगाएका छन् । बिहिबार बाँकिलाई पनि खोप लगाइनेछ । यहाँ पहिलो चरणको खोप अभियान माघ २४ गतेसम्म चल्नेछ । पहिलो चरणमा ७ हजार ५ सय जनाले खोप लगाउनेछन् ।



नयाँ