arrow

निर्वाचनका कुनै पनि प्रक्रिया नरोक्न ओली समूहको निर्वाचन आयोगलाई आग्रह

प्रचण्ड-नेपाल समूहको १८ माघपछि मात्रै छलफल राख्न आयोगलाई आग्रह

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
election-commission-nepal.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रधानमन्त्री केपी शर्मा ओली समूहले निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रिया अघि बढाउन र निर्वाचनका कुनै पनि प्रक्रिया नरोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । 

नेकपाका ओली र प्रचण्ड-नेपाल दुवै समूहलाई आयोगले शुक्रबार दल दर्ता तथा निर्वाचन तयारीबारेको छलफलका लागि बोलाएकोमा प्रचण्ड-नेपाल पक्षले भने छलफल केही दिन सार्न आग्रह गरेको थियो । 

तर छलफलका लागि आयोग पुगेका ओली समूहका नेताहरुले भने निर्वाचन सबैको प्राथमिकताको विषय भएकाले आयोगलाई निर्वाचनका लागि आवश्यक पर्ने दल दर्ता लगायतका सबै प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । 

आयोग पुगेका ओली समूहका नेता सुवास नेम्वाङले निर्वाचनको प्रक्रियालाई अघि बढाउन आयोगलाई आग्रह गरिएको जानकारी दिए । 

‘निर्वाचन सबैको प्राथमिकताको विषय हो, हाम्रो पनि हो, त्यसैले निर्वाचनसँग सम्वन्धित सबै काम अघि बढाउनुस, दल दर्ता प्रक्रिया पनि छिटो अघि बढाउनुस् भनेर आयोगलाई हामीले भनेका छौं,’ छलफलका लागि आयोग पुगेका नेम्वाङले हाम्राकुरासँग भने ।  

प्रचण्ड-नेपाल समूहले भने १८ माघपछि मात्रै छलफल राख्न आयोगलाई आग्रह गरेको छ । 

आयोगले नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्ड वा अध्यक्षद्वयले तोकेका पाँच पाँच जनालाई निर्वाचन प्रयोजनका लागि हुने दल दर्ता तथा निर्वाचन तयारी बारे छलफल गर्न भन्दै शुक्रबार आयोगमा बोलाएको थियो । 

दुवै समूह आयोगमा पुगे पनि प्रचण्ड-माधव समूहले भने आयोगमा पत्र बुझाउँदै दुवै अध्यक्ष उपत्यका बाहिरका कार्यक्रममा व्यस्त रहेको र १८ माघपछि मात्रै आउने भन्दै छलफललाई केही दिन सार्न माग गरेको छन् । 

आयोगलाई सो पक्षले बुझाएको पत्रमा छलफलमा अध्यक्ष आफैं सहभागी हुन चाहेको भनिएको छ । आयोगमा पुगेका लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान पत्र बुझाएर फर्किएका छन् ।

ओली समूहका तर्फबाट भने नेताहरु नेम्वाङ र विष्णु पौडेल लगायतका नेताहरु आयोग पुगेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ