arrow

संसद विघटनपछि संविधान नै विघटन गर्ने खतरा बढ्यो : सिटौला

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
krishna-prasad-sitoula.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद विघटनको घटनापछि संविधान नै विघटन गर्ने खतरा बढेको बताएका छन ।  कांग्रेस क्षेत्र नम्बर ६ काठमाडौंले शहिद दिवसका अवसर पारेर रत्नपार्कमा गरेको विरोध सभालाई सम्बोधन गर्दै सिटौलाले संसद विघटनपछि संविधानले दिएका व्यवस्थामाथि नै चुनौती देखिएकाले संविधान समेत विघटन गर्ने खतरा बढेको बताए ।

‘मुलुकमा राजनीतिक अस्थिरता आउन नदिन संविधानमा संसद विघटनको व्यवस्था राखिएन, अहिले संविधान विपरित संसद विघटन गरिएको छ, यो असंवैधानिक हो, अलोकतान्त्रिक हो, मुलुकमा व्यवस्थामाथि नै प्रहार गर्ने र संविधान नै विघटन गर्ने खेल भइरहेको छ, संविधानमाथि नै खतरा छ,’ सिटौलाले भने । उनले संसद विघटनको विषयमा अदालतमा मुद्दा रहेको र सुनुवाइ भइरहेकाले अदालतले नै विघटनलाई बदर गर्ने समेत बताए ।

‘संसद विघटन विरुद्ध अदालतमा मुद्दा छ, अदालत प्रतिको सम्मान बढाउने र क्षमता प्रदर्शन गर्ने अदालतलाई यो ठूलो अवसर पनि हो, अदालतले असंवैधानिक निणर्यलाई बदर गर्नु पर्छ,’सिटौलाले भने ।

उनले संविधानको विषय अदालतको विषयमात्र नभएर हरेक नागरिकसँग जोडिएको विषय भएकाले संसद पुर्नस्थापनाको विषयमा हरेक नागरिकले आवाज उठाउनु पर्नेमा समेत जोड दिए ।

सरकार र संसदले गलत काम गरे अदालतलाई सच्याउने अधिकार संविधानले दिएकाले अदालत त्यसतर्फ पनि सचेत हुनु पर्नेमा सिटौलाको जोड छ ।
सिटौलाले संसद विघटन गरेर गल्ती गरेको मनन गर्दै सच्याउने ठाउँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत रहेको भन्दै जनताका माझ एक पल्ट भएको गल्ती स्वीकार गर्न समेत आग्रह गरे ।  

‘तपाईंहरुको भाषामा गल्ती सच्याउन झन् सजिलो छ, आत्मालोचना गरे पुग्छ, सार्वजनिक मञ्चबाट भनिदिए हुन्छ, संसद् ब्युँताइदिए हुन्छ, मलाई लाग्छ प्रधानमन्त्रीले गल्ती स्वीकार्लान्, स्वीकारेनन् भने अदालतले स्वीकार गर्न बाध्य बनाउँछ ।’ सिटौलाले सम्बोधनका क्रममा भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ