arrow

काठमाडौंबाट सिटौला समूहको सन्देश

‘कांग्रेस संसद पुनर्स्थापनाकै पक्षमा’

लड्डु कांग्रेसका कारण प्रश्न उठ्यो: गगन थापा

logo
बिना सुवेदी,
प्रकाशित २०७७ माघ १६ शुक्रबार
krishna-prasad-sitoula.jpg

काठमाडौं । नेपाली कांग्रेस भित्रको तेस्रो धार मानिएको नेता कृष्णप्रसाद सिटौला समूहले कांग्रेस प्रतिनिधि सभा पुनर्स्थापनाकै पक्षमा रहेको सन्देश दिएको छ ।  कांग्रेस काठमाडौं ६ ले शहिद दिवसका अवसर पारेर काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको संसद विघटन बिरुद्धको विरोध कार्यक्रममा सिटौला समूहका नेताहरुले कांग्रेस संसद पुनर्स्थापनाकै पक्षमा रहेको सन्देश दिएका हुन ।

सो समूहको नेतृत्व गर्ने नेता कृष्णप्रसाद सिटौलाले संसद विघटनको घटनापछि पार्टी भित्रका केही नेताहरु ‘निर्वाचन भइहाल्छ, जितिहालिन्छ भन्दै मख्ख परेको’ बताउदै संविधान बनाउने कांग्रेसको त्यसलाई जोगाउने दायित्व समेत भएकाले निर्वाचन अघि संविधान जोगाउनु पर्ने र त्यसका लागि संसद पुर्नस्थापना हुनु पर्ने बताए ।

‘केही नेता साथीहरु चुनाव भइहाल्छ जितिहालिन्छ भनेर मख्ख पर्नु भएको छ, म पनि चुनाव हारेको मान्छे चुनाव भए त म पनि जित्छु, तर कांग्रेसले बनाएको संविधानलाई नै विघटन गर्ने खेल भइरहेकाले पहिले संविधानलाई जोगाउने दायित्व कांग्रेसको हो, संसद पुर्नस्थापना भए संविधान जोगिन्छ, कांग्रेसको प्रष्ट कुरा हो, संसद पुर्नस्थापना हुनु पर्छ,’ सिटौलाले भने ।

सिटौलाले संसद विघटनपछि संविधानले दिएका व्यवस्थामाथि नै चुनौती देखिएकाले संविधान समेत विघटन गर्ने खतरा बढेको बताए । उनले संसद विघटनको विषयमा अदालतमा मुद्दा रहेको र सुनुवाइ भइरहेकाले अदालतले नै विघटनलाई बदर गर्ने समेत बताए । ‘संसद विघटन विरुद्ध अदालतमा मुद्दा छ, अदालत प्रतिको सम्मान बढाउने र क्षमता प्रदर्शन गर्ने अदालतलाई यो ठूलो अवसर पनि हो, अदालतले असंवैधानिक निणर्यलाई बदर गर्नु पर्छ,’सिटौलाले थपे । सरकार र संसदले गलत काम गरे अदालतलाई सच्याउने अधिकार संविधानले दिएकाले अदालत त्यसतर्फ पनि सचेत हुनु पर्नेमा सिटौलाको जोड छ । 

कांग्रेस नेता गगन थापाले कांग्रेसका केही नेता ‘लड्डु कांग्रेस’ बनेकाले कांग्रेसमाथि प्रश्न उठ्न थालेको बताए । उनले भने, ‘संविधानमाथि प्रहार गरेर प्रधानमन्त्री केपी ओली संविधानलाई नै सिध्याउन खोज्दैछन, तर केही लड्डु कांग्रेसहरु दुबै हातमा लड्डु भनेर बस्दै छन्, कांग्रेस संसद पुर्नस्थापनाको पक्षमा कि निर्वाचनको भन्ने प्रश्न मात्रै होइन, प्रश्न संविधानको पक्षमा हो कि होइन भन्ने हो ।’ उनले केही कांग्रेसी नै अदालतका विषयमा बोल्न हुँदैन भनेर पन्छिने गरेकोमा आक्रोश समेत व्यक्त गरे ।

‘हामी बीपी कोइरालाको पार्टीका कार्यकर्ता, जसले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्नुभएको थियो, पञ्चायतका बेलामा बोलेका बीपीका कार्यकर्ता आज रामशाहपथ देखेर परपर भाग्ने र अदालतबारे बोल्दैनौं होइन, अदालतले के गर्दै छ भनेर हेर्ने आँट गर्नपर्छ,’ थापाले भने ।

अर्का युवा नेता प्रदीप पौडेलले मुलुकमा विकास र स्थिरताको लागि प्रधान शत्रु केपी ओली रहेको बताए । ‘संविधानले मुलुकमा राजनीतिक स्थिरताका लागि दल विभाजन गर्न ४० प्रतिशत संख्या चाहिने व्यवस्था गर्दा पनि ओली अध्यादेश ल्याएर दल विभाजनका लागि पटक पटक सहज बनाउन खोजे, मुलुकलाई स्थिर राख्न संविधानले संसद विघटन गर्न नपाउने गरी व्यवस्था गर्दा पनि ओलीले संसद विघटन गरेरै छाडे, यसकारण उनी विकास र स्थिरताको प्रधान शत्रु हुन,’ नेता पौडेलले भने ।

पार्टीको आन्तरिक किचलो बढ्दै गएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको भन्दै पौडेलले ‘कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?’ भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्नसमेत गरे ।

नेता उमाकान्त चौधरीले संसद पुर्नस्थापना नभएसम्म कांग्रेस आन्दोलनको मैदानबाट भाग्न नहुने बताए ।

अर्का नेता भीमसेनदास प्रधानले कुनै एक दलको बलबाट मात्रै संविधान नआएको र संविधानमा हरेक जनताको पसिना परेको भन्दै जनभावना र संविधानको मर्म विपरित संसद विघटन गरिएको बताए । कार्यक्रममा नेविसंघ पूर्व महामन्त्री कुन्दनराज काफ्ले, नेविसंघ महामन्त्री वलदेव तिमल्सिना, कांग्रेस क्षेत्र नम्बर ६ का सभापति श्यामकृष्ण खड्गी लगायतले संसद पुर्नस्थापनाको पक्षमा धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ