arrow

संसद् विघटनविरुद्ध जसपाले गर्‍यो तेश्रो चरणको आन्दोलन घोषणा

logo
प्रकाशित २०७७ माघ १७ शनिबार
jasapa-birodh1.JPG

काठमाडौं। संसद् विघटनविरुद्ध आन्दोलनमा उत्रेको जनता समाजवादी पार्टीले अन्ततः तेश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । यसअघि तेश्रो चरणको आन्दोलनको घोषणा सर्वोच्चको फैसला पछि गर्ने कि फैसला अघि नै गर्ने भन्नेमा जसपाका शिर्ष नेताहरु विभाजित थिए । एक थरी नेताहरु सर्वोच्चको फैसला पर्खेर आन्दोलन घोषणा गर्नुपर्ने पक्षमा थिए भने केही नेताहरुले अहिले नै तेश्रो चरणको आन्दोलन घोषणा गर्नुपर्ने धारणा राखेका थिए । स्रोतका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव फैसला अघि नै तेश्रो चरणको आन्दोलन गर्नुपर्ने अडानमा थिए । फैसला अघि तेश्रो चरणको आन्दोलनलाई सशक्त बनाएमा संसद पुनर्स्थापनाको पक्षमा जनदबाब सिर्जना हुने उनको भनाइ थियो । 

शुक्रबार जनकपुर जानुअघि जसपाका ५ जना शिर्ष नेताहरु डा बाबुराम भट्टराइ, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो एक ठाउँमा बसेर तेश्रो चरणको आन्दोलनको कार्यक्रम तय गरेका थिए । पार्टीका नेता शरतसिंह भण्डारीका अनुसार तेश्रो चरणको आन्दोलनको कार्यक्रममा माघ २३ गते जिल्ला, माघ २५ गते प्रदेश तथा निर्वाचन क्षेत्र, माघ २७ गते पालिका तथा माघ २९ गते वडा तहमा संसद् विघटनविरुद्ध जसपाका कार्यकर्ताहरुले विरोध प्रदर्शन तथा विरोध सभा गर्ने भएका छन् । माघ २३, माघ २५, माघ २७ र २९मा जसपाले पार्टी समायोजनको कार्यक्रम पनि राखेको छ । जस अनुसार माघ २३ गते जिल्ला, माघ २५मा प्रदेश तथा निर्वाचन क्षेत्र, माघ २७ गते पालिका तथा माघ २९ गते वडा तहमा तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीवीच समायोजन घोषणा गर्ने कार्यक्रम पार्टीका नेताहरले तय गरेका छन्। समायोजन पछि संयुक्त रुपमा विरोध प्रदर्शन तथा विरोध सभाको कार्यक्रम तय गरिएको छ । सम्बन्धित समितिको आयोजनमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको पार्टीका नेताहरूले जनाएका छन्।

संसद् विघटनको विरुद्धमा जसपाले यसअघि दुइ चरणको आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । पहिलो चरणको आन्दोलन पुस ८ गते देखि पुस १४गतेसम्म गरेको थियो भने दोश्रो चरणको आन्दोलन पुस १७ देखि माघ ७गतेसम्म गरिएको थियो । पहिलो र दोश्रो चरणको आन्दोलनको क्रममा जसपाका नेताहरुले काठमाडौं लगायत देशभर विरोध प्रदर्शन तथा विरोध सभा गरेका थिए । पहिलो र दोश्रो चरणको आन्दोलनलाई जसपाका नेता राजकिशोर यादव र उनी पक्षधर नेता तथा कार्यकर्ताहरुले बहिस्कार गरेका थिए । मर्यादाक्रम नमिलेको भन्दै राजकिशोर अहिले सार्वजनि कार्यक्रममा जान छाडेका छ्रन् । अहिले उनले पार्टीका असन्तुष्ट पक्षहरुसँग छलफल अघि बढाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ