arrow

किशोरी अपहरण गरी करणी गर्ने इन्जिनियरलाई साढे २९ वर्ष कैद

logo
राम धामी,
प्रकाशित २०७७ माघ १९ सोमबार
dadheldhura-court.jpg

डडेल्धुरा । बैतडी जिल्लाको मैलौली नगरपालिका कार्यरत अन्दाजी २८ वर्षीय इन्जिनियर रोशन चन्दलाई किशोरीलाई अपहरण गरेर जर्बजस्ती करणी गरेको अभियोगमा २९ वर्ष छ महिना कैद सजायको फैसला भएको छ ।

जिल्ला अदालत डडेल्धुराका न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानीको इजलासले सोमबार इन्जिनियर चन्दले १७ बर्षीया नावालिका किशोरीलाई जर्बजस्ती अपहरण गरेर बन्धक बनाई जर्बजस्ती करणी गरेको ठहर गर्दै २९ वर्ष ६ महिना कैद सजाय, दुई लाख जरिवाना र दुई लाख ५० हजार रुपैयाँ पीडित किशोरीलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

नावालिका किशोरीलाई शरिर बन्धक बनाई जर्बजस्ती करणी गरेको ठहर गर्दै शरीर बन्धक बनाएर अपहरण गरेको अभियोगमा आठ वर्ष छ महिना, १८ वर्ष उमेर नपुगेकी नाबालिग किशोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा ११ वर्ष र एउटै व्यक्तिले अपहरण र नाबालिगकालाई जर्बजस्ती गरेको अभियोगमा थप १० बर्ष गरि कुल २९ वर्ष छ महिना कैद सजायको फैसला सुनाइएको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । फैसलामा अभियुक्त चन्दलाई दुई लाख जरिवाना र पीडित किशोरीलाई दुई लाख ५० हजार क्षतिपूर्ति भराउन आदेश गरिएको छ ।

सम्मानित अदालतले गरेको फैसलालाई शिरोधार्य गर्नुपर्ने बाध्यता भए पनि पीडित किशोरीलाई शरीर बन्धक बनाएर जर्बजस्ती करणी गरेको मान्न सकिने कुनै आधार नभएकाले उच्च अदालतमा न्यायका लागि पुनरावलोकन गरिने अभियुक्त चन्दका पक्षबाट वकालत गरेका अधिवक्ता हरिप्रसाद भट्टले जानकारी दिए ।

मैलौली नगरपालिकामा ओजेटी गरिरहेकी किशोरीलाई शरीर बन्धक बनाई जर्वजस्ती डडेल्धुरा सदरमुकाम पुगाएर एक होटेलमा जर्वजस्ती करणी गरेको भन्दै आफन्तले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जिल्ला अदालत डडेल्धुरामा मुद्दा दर्ता गरेको थियो । गत २०७६ साल भदौ महिनाको अन्तिम साता इन्जिनियरिङ विषयमा ओजे टी गर्न मेलौली नगरपालिकामा कार्यरत किशोरीलाई अभियुक्त इन्जिनियर चन्दले अपहरण गरेर डडेल्धुरा पुगाई जर्वजस्ती करणी गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बत्ताउँछन् ।

अभियुक्त इन्जिनियर चन्दले लामो समय प्रेममा रहेकी किशोरीसँगको सहमतिमा यौन सम्पर्क गरेको अधिवक्ता भट्टले बताए । उनले १८ वर्ष उमेर नपुगेकी किशोरीलाई सहमतिमा यौन सम्पर्क गरेको भए पनि जर्बजस्ती करणी गरेको प्रचलित कानुनले ठहर गर्ने भए पनि शरीर बन्धक बनाएर अपहरणपछि जर्बजस्ती करणी गरेको भन्न नमिल्ने उनले जिकिर गरे ।

फैसला लगत्तै पुर्पक्षका लागि हिरासतमा रहेका इन्जिनियर चन्दलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पछिल्लो समयमा सहमतिमा यौन सम्पर्क भएर पनि स्वार्थ नमिल्दा जर्वजस्ती करणी गरेको अभियोग पत्र दर्ता गराउने प्रवृत्ति मौलाउँदै गएको छ । जिल्ला अदालत डडेल्धुराले केही मुद्दामा झुटो अभियोग पत्र दर्ता गर्ने महिलालाई समेत सजायको फैसला सुनाएको अदालत सम्बद्ध श्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ