arrow

निर्वाचन आयोगलाई पूर्वप्रमुख आयुक्तको सुझाव: ‘विवाद मिलाएरै निर्वाचनमा जानु’

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
election-commission-nepal.jpg

काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले नेकपाभित्र देखिएको विवाद मिलाएर मात्रै निर्वाचनमा जान सुझाव दिएका छन् ।

निर्वाचनका तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्व प्रमुख आयुक्तहरुसँग कान्तिपथस्थित केन्द्रीय कार्यालयमा छलफल गरेको थियो । सो क्रममा पूर्वप्रमुख आयुक्तहरुले भने आयोगलाई विवाद मिलाएर र दलहरुसँग सहकार्य गरेर मात्रै निर्वाचनमा अघि बढ्न सुझाव दिएका हुन ।

छलफलमा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले  देशमा राजनीतिक मुद्दा पेचिलो बनिरहेका बेला राजनीतिक विषयको समाधान गरेर नै निर्वाचनमा अघि बढ्न आयोगलाई सुझाव दिए ।

उनले दलहरुबाट नै विवाद समाधानका लागि विकल्प आउनु पर्नेमासमेत जोड दिए भने आयोगलाई निर्वाचनका तयारीका सन्दर्भमा कुनै पनि राजनीतिक दलले असहयोग गर्न नहुनेमा पनि उनले जोड दिएका छन ।

यसैगरी पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले राजनीतिक समस्या राजनीतिक दलहरुले सुल्झाउनुपर्ने र आयोगले निर्वाचनको तयारी गर्नुपर्ने बताए ।

मतपत्रको डिजाइन र पार्टी दर्ता नहुँदासम्म निर्वाचनको तयारी पूर्ण नहुने भन्दै उनले विभाजित मनस्थितिमा रहेका दल पनि प्रक्रियामा गएर आयोगलाई सघाउनुपर्ने बताए ।

छलफलमा उनीहरुले आयोगलाई संयुक्त रुपमा निर्वाचन गर्नेबारे दलहरुसंग निरन्तर सर्वदलीय बैठक गर्न, चुनावी माहोल निर्माण गर्न र सरकारलाई चुनावी माहोल निर्माण गर्ने वातावरण बनाइदिन आग्रह गर्न समेत सुझाएका छन् ।

छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ र अयोधिप्रसाद यादव पनि सहभागी थिए । यसैगरी आयोगका तर्फबाट प्रमुख आयुक्त दिनेश थपलिया, आयुक्तहरु नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौडेल सहभागी थिए ।

सो क्रममा निर्वाचन आयोगले भने मतदाता अद्यावधिक कार्यक्रम सुरु भएको, मतदान स्थल पुनरावलोकनको काम जारी रहेको, आचारसंहिताको खाका बनाइरहेको र दल दर्ताको तयारी भइरहेकोबारे जानकारी गराएको थियो ।

आयोगका प्रमुख आयुक्त थपलियाले भने आयोगले निर्वाचनका तयारी र निर्वाचनका सन्दर्भमा गरिरहेका कामका बारे पूर्व प्रमुख आयुक्तहरुसँग छलफल गरेको जानकारी दिए ।

‘निर्वाचनको तयारी र आयोगले गरेका कामका विषयमा पूर्व प्रमुख आयुक्त ज्यूहरुसँग छलफल भएको हो, आयोगले सबै पक्षसँग निर्वाचनका तयारीबारे छलफल गर्दै आइरहेको छ,’ आयोगका म्रमुख आयुक्त थपलियाले हाम्राकुरासँग भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ