arrow

‘अकुपाइ टुँडिखेल’ ले खुलामञ्च खाली गर्न अभियान चलाउँदै

खुलामञ्चमा विरोध कार्यक्रम गर्न दलहरूलाई आग्रह गर्दै पत्रकार सम्मेलन गरिने

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
Khulla-Manch.jpg

काठमाडौं। काठमाडौंका धार्मिक तथा प्राकृतिक सम्पदासहित खुला स्थानको संरक्षणका लागि अभियान चलाउँदै आइरहेका अभियन्ताहरूले ‘अकुपाइ टुँडिखेल’ मार्फत खुलामञ्च खाली गर्न अभियान सुरु गर्ने भएका छन् । खुलामञ्चलाई मासेर सडकमा राजनीतिक गतिविधिहरू हुन थालेपछि ‘अकुपाइ टुँडिखेल’ नामक अभियानमार्फत खुलामञ्चलाई नै खाली गराएर सोही स्थानमा राजनीतिक गतिविधि गर्न राजनीतिक दलहरूलाई आग्रह गर्न लागिएको हो । 

पछिल्लो समय राजनीतिक दलका विरोध प्रदर्शनका गतिविधिहरू सडक नै अवरुद्ध गरेर हुने क्रम बढ्न थालेपछि सडकमा सवारी साधन र  यात्रीहरूलाई सास्ती हुँदै आएको छ । ‘अकुपाइ टुँडिखेल’ अभियानका संयोजक विजय श्रेष्ठले २०३६ को जनमतसंग्रहदेखि नै विभिन्न आन्दोलनको उद्घोष गर्ने थलोका रूपमा खुलामञ्च रहँदै आएकोले सो स्थान खुला गराउन पहल थालिएको बताए । 

उनका अनुसार बुधवार ‘अकुपाइ टुँडिखेल’ अभियानका अभियन्ताहरू खुलामञ्चबाट आफ्ना सामान हटाउन आग्रह गर्दै वीर अस्पतालको नेतृत्व समक्ष जाँदै छन् । 

यसै गरी उनीहरू केही दिन भित्रै दरबार हाइस्कुलको व्यवस्थापनसमक्ष समेत आफ्ना संरचना खुलामञ्चबाट हटाइदिन आग्रह गर्दै जाने तयारीमा छन् । खुलामञ्चको धेरैजसो भाग काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्कका लागि दिएको छ ।

यस्तै वीर अस्पतालले खुलामञ्चको केही भागमा निर्माण सामग्री राख्दै आएको छ भने उसले अस्पतालका लागि सोही स्थानको केही भागलाई पार्किङ बनाउँदै आइरहेको छ । 

यसै गरी २०७२ को भूकम्पपछि दरबार हाइस्कुललेसमेत खुलामञ्चको केही भागमा अस्थायी संरचना बनाएर विद्यार्थीहरूलाई पठन पाठन गराउँदै आइरहेको थियो । तर गत आइतबारबाट उसले भोटाहिटीमा बनेको नयाँ भवनबाट नै पठनपाठन सुरु गरिसकेको छ । तर उसका संरचना खुलामञ्चबाट हटाइएको छैन । 

दुई निकायमा औपचारिक आग्रहपछि अभियन्ताहरू काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य समक्ष खुलामञ्च खुला गराउन आग्रह गर्दै डेलिगेसन जाने तयारीमा छन् । 

त्यसपछि ‘अकुपाइ टुँडिखेल’ अभियानले खुलामञ्चमा नै पत्रकार सम्मेलन गरेर ७ फागुनमा सबै राजनीतिक दलका नेताहरूलाई बोलाएर कार्यक्रम गर्ने तयारीसमेत गरेको छ । 

२०३६ सालमा जनमत संग्रह घोषणा भएपछि पहिलो पटक बिपी कोइरालाले खुलामञ्चमा विशाल सभा आयोजना गराएका थिए ।

यसै गरी २०४६ सालको परिवर्तनपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी लगायतका नेताहरुले समेत खुलामञ्चलाई नै राजनीतिक गतिविधि गर्ने थलो बनाएका थिए । 

यस्तै २०६२/०६३ को दोस्रो जनआन्दोलन पछिसमेत खुलामञ्चबाट नै नेताहरूले लोकतन्त्रको जित भएको उद्घोष गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ