arrow

विप्लव समूहसँग वार्ताको संभावना बढेको छ: मन्त्री थापा

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ माघ २० मंगलबार
Mani-Thapa-NCP.jpg

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ताको लागि तयारी थालेको छ । मंगलबार नख्खुस्थित कारागारको अनुगमनमा पुगेका खानेपानी मन्त्री मणि थापाले सोही कारागारमा थुनामा रहेका विप्लव समूहका प्रभावशाली नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ सँगसमेत भेट गरे । 

सो क्रममा मन्त्री थापाले उनलाई वार्ताका लागि तयार हो ? भन्दै प्रश्न गरे । तर आफू वार्ताका लागि नभएर अनुगमनमा गएको उनको दाबी छ । विप्लव समूहका नेता वलीसँग के कुराकानी भयो ? यस्तो छ हाम्राकुरा डेस्कसँग मन्त्री थापाको प्रतिक्रिया :

सरकारले विप्लवसँग वार्ता गर्न तपाइलाई जिम्मा दिएर विप्लव नेता सुदर्शनलाई भेट्न जानु भएको हो ?
म वार्ताका लागि भनेर त्यहाँ पुगेको होइन । त्यस्तो जिम्मेवारी पनि मलाइ होइन । कारागारतर्फबाट खानेपानी लगायतका विषयमा गुनासो आएपछि हेर्न आउँछु भनेको थिएँ । त्यही सिलसिलामा त्यहाँ अनुगमनका लागि पुगेको हो । सोही क्रममा वलीजीसँग भेट भएको हो । 

सरकारले विप्लव समूहसँग वार्ताको पहल गरेको हो त ?
सरकार सधैं वार्ताका लागि तयार छ । पहिले पनि सरकारले वार्ता समिति बनाएकै हो । त्यस समयमा वार्ता भएन । वार्ता टोलीले त्यसै समय गुजार्‍यो । तर अहिले विप्लव कमरेडहरू पनि वार्ताका लागि सकारात्मक रहेको भन्ने सुनिएको छ । सरकार पनि तयार छ । 

भेटमा विप्लव समूहका नेता सुदर्शनको प्रतिक्रिया कस्तो पाउनु भयो  ?
सुदर्शन कमरेडले पनि वार्ताका लागि सकारात्मक रहेको र वार्ता विरोधी नभएको भन्नु भयो । तर औपचारिक रूपमा हिंसात्मक गतिविधि छाड्ने प्रतिबद्धता उहाँहरूबाट आइसकेको छैन । मैले वली कमरेडलाई वार्तामार्फत सहमतिमा आउन आग्रह गरें । तर आफू थुनामा रहेकाले साथीहरूसँग छलफल हुन नपाएको उहाँले बताउनु भयो ।

उहाँहरूले त पहिले प्रतिबन्ध फुकुवा गर्नु पर्ने र आफ्ना गिरफ्तार नेता कार्यकर्ता छाड्नु पर्ने भन्दै आउनु भएको छ नि हैन ?
उहाँहरूबाट शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता आए सरकार त्यसका लागि तयार छ । हिंसात्मक गतिविधि छाडेको प्रतिबद्धता सरकारले चाहेको छ । उहाँहरू हिंसात्मक गतिविधि छाडेर प्रतिस्पर्धाको राजनीतिमा आउन सहमत हुनुहुन्छ कि हुनुहुन्न भन्ने मूल विषय हो । 

सरकारले पनि त वातावरण बनाउनु पर्ने होला नि ?
हो । सरकार देशमा राजनीतिक मूलधारबाट बाहिर रहेका कुनै पनि शक्तिलाई वार्तामार्फत सहमतिमा ल्याउन तयार छ । देशलाई शान्तिपूर्ण रूपमा अघि बढाउन सरकार एक कदम अघि बढ्छ । उहाँहरू पनि अघि बढ्नु पर्छ । 

वार्ताको सम्भावना कति छ त ?
सम्भावना बढेको छ । तर औपचारिक प्रतिबद्धता आइसकेको छैन । 

सरकारबाट औपचारिक आग्रह हुन्छ ?
औपचारिक रूपमा उहाँहरू तयार रहेको सन्देश आए असम्भव छैन । सरकार सबैको अभिभावक हो । सरकार देशलाई शान्तिपूर्ण ढंगबाट सबैलाई समेटेर अघि बढ्न चाहन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ