arrow

जनकपुरमा झडप, दर्जनौँ राउन्ड हवाइ फायर

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ माघ २२ बिहिबार
janakpur4.jpg

जनकपुरधाम । नेकपा प्रचण्ड-नेपाल समूहका प्रदर्शनकारी र प्रहरीबिच जनकपुरधाममा झडप भएपछि प्रहरीले दर्जनौँ राउन्ड हवाइ फायर गरेको छ । प्रदर्शनकारीले भ्यानमा तोडफोड गर्न थालेपछि धनुषा प्रहरीले हवाई फायर गरेको हो ।  

बिहीबार जनकपुरधामका पसल बजारहरू बन्द गराउँदै हिँडेका प्रदर्शनकारीहरू जानकी चोकबाट जनक चोक हुँदै शिव चोक पुगेपछि विपरीत दिसाबाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेका थिए । सो क्रममा प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेको हो।  

गाडीमा तोडफोड हुनै लाग्दा त्यहाँ पुगेका नेकपा नेता मातृका प्रसाद यादवले प्रहरी र प्रदर्शनकारीलाई सम्झाए पनि उनको केहि लागेन । जनकोकबाट प्रहरी निरीक्षक अशोक झाले हवाई फायर गर्न थालेपछि प्रदर्शनकारी उग्र बनेसँगै तनाव उत्पन्न भएको छ। प्रहरीले केही नेता कार्यकर्तालाई पक्राउ गर्नुका साथै आँश्रुग्यास समेत प्रहार गरी प्रदर्शनकारीलाई भानु चोक तर्फ धपाएको छ।

त्यस्तै ,महोत्तरीको बर्दिबासमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा बर्दिबास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजन ढुङ्गाना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको थियो । प्रहरी र आन्दोलनकारीबिच भएको झडपमा नेकपा प्रदेश २ का सदस्य शङ्कर महतो, बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चूडामणि पोखरेल, वडा सदस्य नीरज अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष राजन ढुङ्गाना लगायत घाइते भएका छन् ।

 उनीहरूको हात, खुट्टा र टाउको चोट लागेको र वडा नम्बर ३ का अध्यक्ष ढुङ्गानाको टाउको फुटेको छ ।

संसद् विघटन र संवैधानिक आयोगहरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदम विरुद्ध प्रचण्ड र नेपाल पक्षका नेकपाका कार्यकर्ताहरूले बर्दिबास सहित देशभर आम हडताल गरेको छ ।

बिहानैदेखि आन्दोलनकारीले बर्दिबास बजार, कलकारखाना, शैक्षिक संस्थाहरू बन्द गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ