- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। ट्रेड युनियन ऐन २०४९ अनुसार श्रम विभागमा दर्ता भई अवधि समाप्त भएका सङ्घ-संस्थाहरू एक पटककोलागि नवीकरण हुने भएका छन्। अवधि समाप्त भएका ट्रेड युनियनहरूलाई एक पटककोलागि नवीकरण गर्न सरकारले मन्त्रिपरिषद्बारा कानुन पास गरेको छ। ट्रेड युनियन (पहिलो संशोधन नियमावली) २०७७ राजपत्रमा प्रकाशित भएको छ।
श्रम मन्त्रालयका सचिव तोयाम रायाले ट्रेड युनियन ऐन अन्तर्गत दर्ता भई अवधि समाप्त भएका ट्रेड युनियनहरूलाई नवीकरण गर्न एक पटक अन्तिम मौका दिइने बताए। ‘५ वर्ष सम्म या ७ वर्षसम्म पनि नवीकरण हुन नसकेका ट्रेड युनियनहरू अब एक पटककोलागि नवीकरण हुन सक्ने छन्’रायाले भने ‘तर यो अन्तिम मौका हो।’
नियमावलीमा लेखिएको छ,‘अवधि समाप्त भएका ट्रेड युनियनहरूलाई यो नियम प्रारम्भ भएको पन्ध्र दिन भित्र पञ्जिकाधिकारीले नवीकरण गर्न सूचना दिनु पर्ने छ। यसरी सूचना प्राप्त गर्ने ट्रेड युनियनहरूले यो नियम प्रारम्भ भएको ३ महिनाभित्र नवीकरणको लागि लाग्ने दस्तुरको थप पचास प्रतिशत दस्तुर सहित पञ्जिकाधिकारी समक्ष दरखास्त दिन सक्ने छन्।’ श्रम मन्त्रालयका अनुसार नवीकरण हुन नसकेका ट्रेड युनियनहरूलाई नवीकरणकोलागि श्रम विभागले १५ दिनको सूचना निकाल्ने तयारी गरेको छ। त्यसरी सूचना निकालेको ३ महिना भित्र नवीकरण हुन नसकेका ट्रेड युनियनहरूले नवीकरणकोलागि श्रम विभागमा निवेदन दिनु पर्ने छ।
ट्रेड युनियनहरूले श्रम विभागमा नवीकरण गर्न एक वर्ष कोलागि ५सय रुपैयाँ दस्तुर बुझाउनु पर्ने व्यवस्था ट्रेड युनियन नियमावलीमा राखिएको छ। तर नवीकरण हुन नसकेका ट्रेड युनियनहरूको हकमा नवीकरण नभएको मितिसम्म प्रत्येक वर्ष २ सय ५० रुपैयाँको दरले पञ्जिकाधिकारी समक्ष दस्तुर बुझाउनु पर्ने व्यवस्था नियमावलीमा राखिएको छ।
नियमावलीमा ‘नवीकरणकोलागि पेस गरिएको दरखास्त सम्बन्धमा पञ्जिधकारीले जाँचबुझ गरी रित पुगेको देखिएमा त्यस्तो ट्रेड युनियनको नवीकरण गरिदिनु पर्ने छ’ भनी लेखिएको छ। तर ३ महिनाभित्र दरखास्त नदिने ट्रेड युनियनको दर्ता कायम नहुने व्यवस्था पनि नियमावलीमा गरिएको छ।