arrow

प्रचण्ड–नेपालको आमहड्तालबाट गुमनाम दुई अनुहार

logo
प्रकाशित २०७७ माघ २२ बिहिबार
ghanashyam-yogesh.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आमहड्तालमा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल निरीक्षणमा निस्के पनि दुई युवा नेता भने गुमनाम भए । बिहीबारको आमहड्ताल अधिनायकवाद र गणतन्त्रविरोधी विरुद्ध भएको जनाउँदै प्रचण्ड पुल्चोकमा दर्जनौं सुरक्षाकर्मीहरुसहित देखिए भने नेपाल स्कुटरमा निस्किए । 

तर प्रभावशाली मानिएका युवा नेताहरु घनश्याम भुषाल र योगेश भट्टराई भने गुमनाम भए । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सामूहिक राजीनामा दिने क्रममा कृषि मन्त्रीबाट भुषालले र पर्यटन मन्त्रीबाट भट्टराईले राजीनामा दिएर प्रचण्ड–नेपालको आन्दोलमा होमिएका थिए । उनीहरु बिहीबार राजधानी केन्द्रीत आन्दोलनमा देखिएनन् । समूहका अध्यक्षद्धय प्रचण्ड र नेपालले आमहड्ताल गणतन्त्रविरोधी विरुद्धको अभियान भएकाले जनतालाई थोरै दुःख भए पनि यसले जनताकै पक्षमा र न्यायका लागि आफूहरु सडकमा आउनु परेको बताएका थिए  । 

यही क्रममा योगेश भट्टराईले एउटा ट्वीट गरेर बिहीबारको आन्दोलनलाई भौतिक सहभागीता नजनाइ टारेका थिए ।  ‘सत्ताको आडमा मण्डलेतन्त्रको उदय, उन्माद र स्वेत आतंक अनि पतन सुनेको मात्र होइन देखेको र भोगेको पनि हो ! ढिलो वा चाँडो मार्ग त्यही हो’, भट्टराईले गरेको ट्वीटमा लेखिएको थियो । तर भुषालले भने त्यो औपचारिकता पनि पूरा गरेनन् । प्रचण्ड–नेपाल समूहको आन्दोलन संघर्ष समितिको प्रवक्तासमेत रहेका भट्टराई केही दिनदेखि सो समूहले आयोजना गरिरहेको पत्रकार सम्मेलनमा समेत सहभागी भएका थिएनन् । 

दुई साताअघि काठमाडौंमा गरिएको विशाल आमसभाको क्रममा भट्टराईलाई कार्यक्रम संचालन गर्न दिने भनिए पनि एकाएक पम्फा भुषालको उदय भएपछि उनी त्यस दिन पनि बाहिरिएका थिए । त्यसयता भट्टराई खासै राम्रोसँग आन्दोलनमा सहभागी भएका छैनन् । ‘उहाँ काठमाडौं बाहिर हुनुहुन्छ त्यही भएर अहिले काठमाडौमा नदेखिनु भएको हो बाहिरकै कमाण्डमा रहनु भएकाले उहाँलाई आन्दोलनले मिस गरिरहेको छ’, उनी निकट एक नेताले भने ।
  
बिहीबार दिनभर सो समूहले आमहड्तालको आयोजना गरेको थियो । आमहड्तालको क्रममा शीर्ष नेताहरु नै सडकमा सहभागी भएका थिए । सो समूहका अध्यक्ष नेपाल स्कुटरमा चढेर बन्दको अवलोकन गरेका थिए भने प्रचण्ड पुल्चोकस्थित सडकमा धर्ना बसेका थिए । नारायणकाजी श्रेष्ठ, भीम रावलहरु पनि आमहड्तालको क्रममा सडकमा देखिएका थिए । अष्टलक्ष्मी शाक्य, हितमान शाक्य र विजय पौडेल त पक्राउ नै परे तर भुषाल र भट्टराईको कुनै सहभागीता देखिएन । 

रामकुमारी झाक्री, शिव गुरुङहरुले तस्वीर नै सार्वजनिक गरे । बेलुकीपख प्रतिनिधिसभा विघटनविरूद्ध गरिएको आमहड्तालबारे देशभरका घटनाको ‘अपडेट’ भन्दै पार्टीको फेसबुक पेजमा लाइभ गराउँदै केन्द्रीय सदस्य विष्णु रिजाल झुल्किए । रिजालले नेकपाको ओली पक्षतिर लक्षित गर्दै ‘साइबर सेना’ ले त्यस्तो काम गरेको आरोप लगाए । 

‘आज बिहानैदेखि साइबर अपराधमा अभ्यस्त व्यक्तिहरूले विभिन्न आन्दोलनका तस्बिर राखेर, अरु देशका आन्दोलनका तस्बिर राखेर परिस्थितिलाई भड्काउने, जनसमुदायलाई उत्तेजित बनाउने खोजेको पनि पाइयो । किसानहरूको भक्तपुरको तस्बिर भन्दै बङ्गलादेशको तस्बिर राख्ने, २०७० सालको चुनावमा भएको आगजनीको तस्बिरलाई गाडीमा आगजानी भन्ने । किसानहरूका अरु सामग्रीहरु नष्ट गरियो भन्ने खालका कुराहरू पनि सामाजिक संजालमा भएका थिए । हिजो नै आमहड्ताल फिर्ता भयो भन्ने कुप्रचार सामाजिक संजालमा भएका थिए । केही समयअघि गठन गरिएको कथित ‘साइबर सेना’ नामको ‘साइबर क्राइम ग्रुप’ को काम हो भन्ने कुरामा ढुक्क हुनुहोस् भन्ने म निवदेन गर्न चाहन्छु,’ रिजालले भने । रिजाल दिनभर प्रचण्ड सहभागी भएको पुल्चोक वरिपरि नै खटिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ