arrow

काठमाडौँमा वर्षा हुँदै !

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
weather11.jpg

काठमाडौँ ।  पश्चिमी वायुको प्रभावले शुक्रवार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार बिहानैदेखि पश्चिम नेपालका केही ठाउँमा हल्का वर्षा भइरहेको छ ।

उच्च हिमाली भूभागमा हिमपात भएको छ । शुक्रवार अपराह्न तथा बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए । “पश्चिमी वायु सक्रिय नभएकाले ठुलो वर्षाको सम्भावना छैन । हल्कादेखि मध्यम वर्षाको सम्भावना मात्र रहेको छ”, मौसमविद् अर्यालले भने ।

मौसमविद् अर्यालका अनुसार काठमाडौँ उपत्यकामा आंशिक बदली रहेको छ । दिउँसो र साँझ हल्कादेखि मध्यम वर्षा हुने अर्यालले बताए । काठमाडौँका विभिन्न स्थानमा वर्षा हुन सुरु गरेको छ ।

पश्चिमी भूभागमा शुक्रवार ७.८ मिलिमिटर वर्षा भइसकेको बताइएको छ । यस प्रणालीको प्रभाव शनिवार बेलुकासम्म रहने र आइतबारदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ ।

 देशभर राति आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रवार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै शुक्रवार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री र सबैभन्दा धेरै धनगढीको न्यूनतम तापक्रम १३ दशमलव शून्य डिग्री सेल्सियस छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ