arrow

टेलिकमको सत्रौँ वार्षिकोत्सव फोरजी मुलुकभर विस्तार गर्न मन्त्री गुरुङको निर्देशन

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
nepal-telecom-17th-anniversary.jpg

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई ग्राहकको विश्वासप्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा अब्बल साबित भएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रूपमा स्थापित गर्न लाग्नुपर्ने बताएका छन्। उनले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फाइभजीको परीक्षण गर्न पनि निर्देशन दिए।

नेपाल टेलिकमको स्थापनाको १७ औँ वार्षिकोत्सवको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले दूरसञ्चारको पूर्वाधार विकास गर्ने सम्बन्धमा मुलुकमा हाल विद्यमान ढिलाइ र बढ्दो लगानी न्यूनीकरण गर्न पूर्वाधार विकासका लागि छुट्टै कम्पनी स्थापना गर्न सुझाव दिए।

यसैगरी उनले समग्र व्यवस्थापन, नीति, सेवागत क्षेत्रमा देखिएका चुनौतीहरूका सम्बन्धमा वार्षिकोत्सवका अवसरमा समीक्षा गरी तिनलाई सम्बोधन गनुपर्ने आवश्यकता औँल्याए । कम्पनीको दीर्घकालीन रणनीति तय गरी प्रतिस्पर्धात्मक वातावरणमा सबल रहिरहन रणनीतिक व्यवस्थापन साझेदारको व्यवस्था गर्नुपर्ने तथा प्रविधिको विकासक्रम अनुसार जीएसएम फाइभजी सेवाको विस्तारका लागि हाल उपलब्ध भइरहेको फ्रिक्वेन्सीको समुचित उपयोग गर्न पनि सुझाव दिए । 

कम्पनीको विशिष्ट कार्यप्रकृति र कर्मचारीहरूको वृत्तिविकास तथा ग्राहक वर्गलाई उपलब्ध गराउन सकिने उच्चस्तरीय सेवाहरू सुनिश्चित गर्न सक्ने गरी कर्मचारी विनियमावली शीघ्र कार्यान्वयन गर्नेतर्फ पनि उनले ध्यानाकर्षण गराए । कार्यक्रममा मन्त्री गुरुङले कम्पनीका सेवाहरूका बारेमा आर्टिफिसियल इन्टिलिजेन्सको उपयोगमार्फत जानकारी हासिल गर्न सकिने च्याटबाट सेवाको सफ्ट लन्च गरेका थिए।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमको सभापतित्व सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले गरेका थिए । सो क्रममा उनले महामारीका समयमा मानवीय सेवा र गतिविधिलाई निरन्तर, सहज र सामान्य बनाउनेतर्फ ग्राहक वर्गले उपयोग गरेका अनलाइन कक्षा, अनलाइन बैठक, अनलाइन किनमेललाई कम्पनीका सेवाहरूले निकै सहयोग गरेकाले यसलाई निरन्तरता दिन फोरजी र एफटीटीएच सेवाको विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने बताए। उनले सङ्कटको समयमा पनि कम्पनीका सेवाहरू निरन्तर रूपमा उपलब्ध गराइरहन सहयोग पुर्‍याउने सम्बन्धित निकायहरू र कर्मचारी वर्गलाई धन्यवाद दिए।

सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा कम्पनीले नाफालाई मात्र प्राथमिकतामा नराखी मुलुकका सबै भूभाग र बस्तीहरूमा सेवा प्रदान गरेकोले नै कम्पनीको ग्राहक आधार अन्य सेवा प्रदायकहरूको भन्दा बढी भए तापनि राजश्वमा सो अनुरूप वृद्धि हुन नसकेको वास्तविकता उल्लेख गरे । उनले पूर्वाधारको सह प्रयोगबाट कम्पनी थप लाभान्वित हुनसक्ने पनि बताए।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले १७औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने गरी आकर्षक सुविधासहितको फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस र  मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाको सुरुवात गरेको बताए।

फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकहरूले सीपीई प्रयोग गरी सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् । उक्त सीपीईमा फोरजी डब्लुएचबीबीको सिम कार्ड प्रयोग गरी गुणस्तरीय र सस्तो डाटा सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । हाल यो सेवा प्रतिमहिना रु. ९ सयमा ६० जीवी, रु. १५ सयमा  १२० जीवी, वार्षिक रु. ९,६०० मा ७२० जीवी र रु. १६,००० मा १,४४० जीवी उपलब्ध हुने पनि टेलिकमले जनाएको छ ।

व्यावसायिक उपकरणहरूबिच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरूको लोकेसन अपडेट गर्ने, लजिस्टिक म्यानेजमेन्ट गर्ने गर्ने प्रयासहरू विश्वव्यापी रूपमै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले यस दिनबाट सुरु गरेको ‘मेसिन टु मेसिन डाटा र एसएमएस प्याक’ कार्यालय प्रयोजनका लागि आकर्षक हुने अपेक्षा गरिएको जनाएको छ।

यसै अवसरमा नेपाल प्रहरीलाई प्रविधिमा आधारित सेवा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले ७ थान अत्याधुनिक कम्प्युटर प्रदान गरिएको थियो। वार्षिकोत्सवकै अवसरमा कम्पनीले गरिब तथा असहाय बालबालिकाको मुटुको भल्भ फेर्ने कार्यमा शहीद गङ्गालाल राष्ट्रिय हृदयसँग सहकार्य गर्ने कार्यक्रम पनि सार्वजनिक गरियो।

सोही कार्यक्रममा मन्त्री गुरुङ र कार्यक्रमका सभापति सञ्चालक समितिका अध्यक्षले कम्पनीको सत्रौँ वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका संयुक्त रूपमा विमोचन गरेका थिए। यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरू र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाहरूमा आवाज दिने कलाकारहरू, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरू, कोरोनाको महामारीमा कम्पनीसँग सहकार्य गरी स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाहरूलाई सम्मान तथा पदक प्रदान गरिएको थियो।

समारोहमा मन्त्री गुरुङ तथा कम्पनी सञ्चालक समितिका अध्यक्षले कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र पनि वितरण गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ