arrow

संविधानको मर्म विपरीतको कर्म गर्ने प्रवृत्तिविरुद्ध कांग्रेसले सङ्घर्ष जारी राख्ने

logo
प्रकाशित २०७७ माघ २३ शुक्रबार
nc-party-office.png

काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको शपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रमहरूमा व्यापकताका लागि सबैलाई अपिल गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरु देखिनै कुल्चिँदै आएको टिप्पणी गर्दै त्यस विरुद्ध पार्टी संस्थागत निर्णयका साथ प्रष्ट रूपले विरुद्धमा उभिएको स्पष्ट पारेका छन् ।

“संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो शपथ ग्रहण संविधानको मर्म विपरीतको कर्म गर्ने प्रवृत्तिविरुद्ध हाम्रो सङ्घर्ष जारी छ, जारी रहनेछ”, विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले संसद् विघटनविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने उल्लेख गर्दै जनताले दुःख पाउने गरी बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न आफू दृढ रहेकोसमेत जनाएको छ । साथै कांग्रेसले विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई पनि सो अपिल गरेको छ ।
 
वर्तमान सरकार बनेपछि जनविरोधी कदमहरू र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा शालीन ढङ्गले प्रस्तुत हुँदै आएको उल्लेख गर्दै उहाँले अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम आयोजना नगरेको बताएका छन् । 
प्रतिनिधिसभा विघटन लगत्तै कांग्रेसले आयोजना गरेको सर्वदलीय बैठकबाट निर्मित साझा धारणाको पक्षमा आन्दोलनका अलग–अलग कार्यक्रम मार्फत व्यापक जनमत प्रकट भइरहेको पार्टी कार्यालयले जनाएको छ । 

कांग्रेसले संसद् विघटनविरुद्ध गत पुस १३, पुस २५, यही माघ ३, माघ ८ र माघ १९ गते विभिन्न तहमा पार्टी र भ्रातृ संस्थाहरूबाट व्यापक सहभागिता साथ प्रदर्शन सम्पन्न गरिसकेको छ । साथै शनिवार माघ २४ गते शुभेच्छुक संस्थाहरूको प्रदर्शनपश्चात् आगामी फागुन ३ गते ७७ जिल्लामै कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ सशक्त प्रदर्शनको कार्यक्रम पूर्वनिर्धारित रहेको प्रवक्ता शर्माले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ