arrow

ओली  ‘ब्राण्ड’ कै भद्दा मजाक 

logo
प्रकाशित २०७७ माघ २४ शनिबार
oli-samuha-narayanhiti.jpg

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि एउटा समूह प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेका छन् भने अर्को समूह पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेका छन् । दुई समूहमा विभाजित भएपछि प्रचण्ड–नेपाल समूहले ओलीलाई प्रतिगमनको मतियार र ओलीले प्रचण्ड–नेपाल समूहलाई भगौडा भन्न भ्याएका छन् । 

दुवै पक्ष सडकमा उत्रिएका छन् । माघ ९ गते प्रचण्ड–नेपाल समूहले आयोजना गरेको आमसभा भन्दा धेरै मानिसहरु जुटाएर आमसभा गरेको ओली समूहको नेकपा एक जना ओलीमा मात्रै सीमित भएको छ । खासगरी ओली समूहमा रहेका नेताहरुमध्ये प्रभावशाली नेताहरु नभएका कारण ओली नै त्यसगुटको सर्वमान्य नेताको रुपमा देखिएका छन् । 

पार्टी विभाजन भएदेखि अहिलेसम्म आउँदा सो समूहले काठमाडौं उपत्यका र काठमाडौभित्रै गरेका विभिन्न कार्यक्रममा ओलीकै भाषण सुन्न आउनेहरुको जमात निकै बढी छ । युवा विद्यार्थीहरुको भेला होस् या किसान महासंघको भेला वा जनवर्गीय संगठनहरुको भेला सबैमा ओली एक मात्र प्रमुख वक्ता देखिएका हुन् । अझ युवा विद्यार्थीहरुले उनलाई ओली बा ब्राण्ड बनाएर व्यक्ति पूजा थालेपछि भने ओली ब्राण्डको भद्दा मजाक मात्रै भएको छ । 

प्रधानमन्त्री ओली आफैंमा बढी प्रशंसा रुचाउने व्यक्ति भएका कारण पनि अहिले ओली जिन्दावाद वा ओली बा तथा आइ लभ यू ओली बा जस्ता नारा लगाएर व्यक्तिवादी सोच र प्रवृत्तिलाई त्यो समूहले हुर्काएको छ । देशभर यसरी व्यक्ति पूजाको भद्दा मजाकले कम्युनिष्ट पार्टीलाई नै सामूहिक नेतृत्वको पार्टी रुप लजाएको आभाष हुन थालेको छ । 

कम्युनिष्ट पार्टीभित्र कहिल्यै व्यक्ति पूजा हुँदैन । असल खराब छुट्याउनु अलग कुरा हो तर सामूहिक भावना र नेतृत्वमा सञ्चालन हुने भएको जसअपजसको भागिदार सामूहिक नै हुने गर्छ । शुक्रबार नारायणहिटी संग्रहालय अगाडि गरिएको आमसभा ओली आफैंले आफ्नो गल्ती कमजोरी नभएको जनाउँदै आफू सही दिशामा रहेको बताएर व्यक्ति पूजालाई झन् बढवा दिएका थिए । 

त्यतिमात्र होइन आयोजकले कार्यक्रमस्थल वरिपरि नै केपी ओलीको तस्वीर झुण्ड्याएको थियो । ठाउँ ठाउँमा ओलीको पूर्ण कदको तस्वीर राखिएको थियो । त्यतिमात्रै नभई आयोजक  बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले त केपीको विषयमा गीत कविता नै बनाएर वाचन गराएका थिए । त्यतिमात्र होइन जुलुशमा सहभागीहरुले केपी ओली आइलभ यूको नारा लगाएका थिए । 

ओली आफैंमा पनि आफ्नो नाम युगौंयुगसम्म रहोस् भन्ने चाहनाले गर्दा पनि ओली ब्राण्ड बनाउन खोजेको देखिन्छ । सरकारी काम सकिएको होस् वा थालनी होस् उनी आफैँ उद्घाटन र शिलान्यासमा पुगेपछि उनका समर्थकहरुले ओली बा जिन्दावादको नारा लगाउँछन् । 

केहि दिनअघि दाङ, चितवन र सर्लाहीमा उद्घाटन र शिलान्यास गरेर मार्बलमा नाम खोपाएका ओलीले त्यहाँ पनि आफ्ना समर्थकहरुले केपी ओली जिन्दावाद भनेको सुनेर आएका थिए ।  बिहीबार काठमाडौंबाट स्वीच अन गरेर उद्घाटन गरेको पर्वतको कुश्मास्थित कुश्मा सबस्टेशन र प्रशारण लाइनमा पनि त्यसैगरी नाम लेखाएर काठमाडौं आएर किसान संघको कार्यक्रममा प्रशंसा थापेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ