- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले कम्युनिस्टहरूले पार्टीगत विवादका कारण मुलुकलाई प्रतिगमनतर्फ धकलेको बताएका छन्। संसद् विघटन विरुद्ध नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरूले शनिवार जनकपुरधाममा शान्तिपूर्ण विरोध प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै उपसभापति निधिले भने, ‘कहीं न कहीँ यसको दोषी मधेसी जनता पनि हुन्।’
कम्युनिस्ट भनेकै निरङ्कुश हुनभन्ने जान्दाजान्दै मधेसी जनताले काँग्रेसलाई हराउँदै कम्युनिस्टहरूको हातमा सत्ता सुम्पिदिए, जसको परिणाम आज मुलुक प्रतिगमनतर्फ धकेलिएको निधीको भनाई थियो ।
कम्युनिस्ट नेतृत्वको सरकार निरङ्कुश मात्रै होइन काण्ड काण्डले भरिएको आरोप लगाउँदै निधीले भने, ‘कारबाही गर्ने निकाय नै सत्तापक्षको दास बनेपछि कारबाही कसले गर्ने ?’
नेता निधीले मुलुकलाई बचाउन प्रतिनिधि सभा पुनः स्थापन गर्ने पक्षमा आफूहरू रहेको जनाउँदै पुरस्थापन हुन सकेन भने लोकतान्त्रिक प्रक्रिया निर्वाचनमा पनि जान काँग्रेस तयार रहेको बताए ।
त्यसै कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व कृषि मन्त्री रामकृष्ण यादवले अपराधी र भ्रष्टाचारीलाई बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताए।
संसद् विघटन र असंवैधानिक नियुक्ति विरुद्ध काँग्रेसका शुभेच्छुक संस्थाहरूले शनिवार जनकपुरमा गरेको प्रदर्शन पश्चताको कोणसभामा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले निर्मला पन्तको हत्यारा ओली सरकारका मन्त्रीकै छोराछोरी भएको जिकिर गरे ।
माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सङ्घर्षका थप कार्यक्रमहरू घोषणा गरेअनुरूप शनिवार पार्टीका १८ वटा शुभेच्छुक संस्थाहरूले विरोध प्रदर्शन गरेका हुन् ।
काँग्रेसको पार्टी कार्यालयबाट निस्केको जुलुस क्याम्पस चोक, मुरलीचोक, रामचोकहुँदै जनकचोकमा पुगेको थियो । प्रदर्शनमा सहभागीहरूले ‘पेसाकर्मीलाई बनाइयो आहत, महामारीमा पनि दिइएन राहत’, ‘सङ्घीय शिक्षा ऐन खारेज गर’, ‘विधिको शासन कायम गर’, ‘मानवअधिकारको रक्षा गर’, ‘सबै श्रमिकहरूको स्थानीयतहमा पञ्जीकरण गर’, ‘सबैलाई सामाजिक सुरक्षा लागु गर’, ‘बेरोजगार बिमा लागु गर’, ‘पेसाकर्मीले चिन्यो वर्तमान सरकार’, ‘महामारीमा पनि भ्रष्टाचार’ लेखेका प्लेकार्डसहित प्रदर्शन गरिएको थियो ।