arrow

नारायणकाजीको हठले आमहड्ताल 

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
narayankaji-shrestha-maobadi.jpg

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहभित्र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको जिद्धीका कारण सर्वसाधारणबाट आलोचित भएको महशुस गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बुधबार बिहान संवैधानिक निकायका पदाधिकारीहरुलाई सपथ गराई नियुक्ति गरेपछि त्यसको प्रतिक्रिया स्वरुप  बिहीबार आम हडताल गरेको प्रचण्ड–नेपाल समूह कार्यकर्ता र आम सर्वसाधारणबाट आलोचित भएको थियो । 

आमहड्तालको क्रममा पत्रकारमाथि गरिएको दुर्व्यवहार र ट्याक्सी आगजनी जस्ता घटनाक्रमबाट आलोचित भएपछि त्यसलाई केही हदसम्म मिनिमाइज गर्न शुक्रबार बिहानै दुवै अध्यक्ष प्रचण्ड–नेपालले पत्रकार सम्मेलन गर्नु परेको थियो । 

शुक्रबार बिहानको पत्रकार सम्मेलनमा माधवकुमार नेपालले आफूहरुले बाध्यतावश आमहड्ताल गर्नु परेको बताएका थिए । उनले पटक पटक जनतासँग माफी मागेका थिए । श्रमजीवी जनतालाई असजिलो भएको भन्दै उनले माफी मागेका थिए । सो पत्रकार सम्मेलनमा संघर्ष समितिका कोही कसैलाई बोल्न दिइएको थिएन । 

पत्रकारहरुसँग अन्तक्र्रिया गर्ने भनिए पनि संघर्ष समितिका संयोजक, सहसंयोजक वा अन्य नेताहरु चुपचाप बस्नु परेको थियो । पत्रकारहरुले आमहड्तालबाट प्रचण्ड–नेपाल समूहलाई नै प्रत्युपादक भएको धारणा राखेका थिए । धेरैजसो समय पत्रकारहरुले प्रचण्ड–नेपालको आलोचना मात्रै गरेनन् श्वेत पत्र जारी गरेमात्रै जनता सडकमा आउनसक्ने बताएका थिए । 

त्यहीबेला अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले जवाफ दिँदै छिटै नै श्वेत पत्र जारी गर्ने बताएका थिए । उनले कतिपय सन्दर्भमा पत्रकारले सोधेको प्रश्नको जवाफ नै दिएका थिएनन् । पत्रकार सम्मेलनमा दुवै अध्यक्ष मूलतः प्रतिरक्षात्मक बनेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण अहिलेको अवस्थामा आएको बताएर पन्छिएका थिए । 

यो अवस्था किन आयो भन्ने सन्दर्भमा प्रचण्ड–नेपाल समूहका एक नेताका अनुसार नारायणकाजी श्रेष्ठको बलमा आमहड्तालको कार्यक्रम घोषणा गरिएको र त्यही बलमा दुई अध्यक्षहरु लतारिएर आमहड्तालमा सहभागी हुनु परेको थियो । 

गत बुधबार बिहान अख्तियार लगायतका आयोगमा प्रेमकुमार राई लगायतको नियुक्ति भएपछि बुधबार दिउँसो नै पेरिसडाँडामा संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । आकस्मिक रुपमा गरिएको पत्रकार सम्मेलबाट बिहीबार आमहड्ताल गर्ने निर्णय सुनाइएको थियो । 

संघर्ष समितिमा नारायणकाजी श्रेष्ठका अतिरिक्त पम्फा भुषाल, गणेश शाह, विजय पौडेल, सूर्य सुवेदी पथिक, योगेश भट्टराई लगायतका नेताहरु रहेका छन् । संघर्ष समितिले आम हड्तालको कार्यक्रम तय गरिरहँदा अध्यक्षद्धयलाई जानकारी गराइएकै थिएन । 

पत्रकार सम्मेलन गर्नु १५ मिनेटअघि मात्रै अध्यक्षलाई जानकारी गराइएको थियो । दुई अध्यक्षले जनताको प्रतिक्रिया राम्रो नआउने भन्दै रोक्न बल गरेका भए पनि नारायणकाजीले एक सञ्चारमाध्यमलाई सूचना चुहाएपछि बाध्य भएर आमहड्तालको दिशातर्फ उन्मुख भएको थियो । 

‘आमहड्तालको कार्यक्रम नारायणकाजीको एकल कार्यक्रम हो यो विषयमा स्थायी कमिटी बैठकमा समीक्षा हुनेछ’, प्रचण्ड निकट एक नेताले भने । उनका अनुसार आमहड्तालको क्रममा तोकिएका कमाण्डर पनि खासै उत्साहका साथ सहभागी भएका थिएनन् । उनीहरुले बाध्यतावश आफ्नो कमाण्ड सम्हालेका थिए । 

संघर्ष समितिका प्रवक्ता योगेश भट्टराई र घनश्याम भुषालले सो विषयमा कुनै प्रतिक्रिया नै दिएनन् । उनीहरु आमहड्तालको कार्यक्रममा सहभागी भएनन् । 

काठमाडौ बाहिर भएपनि उनीहरुले काठमाडौं बाहिरको कुनै पनि मोर्चा सम्हालेनन् । ‘प्रवक्ता श्रेष्ठकै कारण अध्यक्षद्धय मिडियासँग अन्तक्र्रिया गर्न वाध्य हुनु भएको हो, शुक्रबार सम्बन्धित बिट गर्ने पत्रकारसँग छलफल गर्नुभयो शनिबार दिउँसो प्रकाशकहरुसँग छलफल गर्नु भयो’, प्रचण्ड निकट एक नेताले भने । 

अब आमहड्ताल गर्ने कि नगर्ने भन्ने बारेमा पत्रकारहरुसँग प्रचण्डले अब त्यस्तो कार्यक्रम आफूहरुको तर्फबाट नआउने भन्दै माफी मागेका थिए । त्यतिमात्र होइन जनतालाई असजिलो हुने कार्यक्रम कुनै पनि नगर्ने जनाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ