arrow

भागरथी हत्याको अनुगमन गर्न मानवअधिकार आयोगको टोली घटनास्थल जाँदै

हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र कारबाही अघि बढाउन माग

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
bhagrathi-bhatta.jpg

काठमाडौँ ।  राष्ट्रिय मानव अधिकार आयोगले बैतडीको दोगडाकेदार ७ मा भएको भागरथी भट्टको हत्याको अनुगमन सुरु गर्दै हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै आयोगका तर्फबाटसमेत भट्टको हत्याको अनुसन्धान सुरु गरिएको जनाएको हो ।  विज्ञप्तिमा हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन र कारबाही अघि बढाउनसमेत सरकारसँग माग गरिएको छ ।

घटनाको अनुसन्धानका लागि आयोगले धनगढीस्थित प्रदेश कार्यालयबाटसमेत आफ्नोतर्फबाट अनुगमन टोली घटनास्थल पठाएको जनाएको छ ।
आयोगले विज्ञप्तिमार्फत घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न, अनुसन्धानको क्रममा साक्षीको सुरक्षा र प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउन, घटनामा संलग्न दोषीको शीघ्र पहिचान गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई अन्तरिम राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीसँग अनुसन्धान तथा पछिल्लो अवस्थाबारे जानकारी माग गरी पत्राचार गरिएकोसमेत भनिएको छ ।

यसै गरी शान्ति सुरक्षाको अभावमा हुने सो किसिमका घटनाले बालबालिकाको बाँच्न पाउने, संरक्षित हुन पाउने र बाल विकासको अधिकारमा अवरोध उत्पन्न भई बाल मनोविज्ञानमा नकारात्मक असर परेको देखिएको विज्ञप्तिमा उल्लेख  छ ।

१७ वर्षीया भट्टको २१ माघमा बलात्कारपछि हत्या गरिएको आशङ्का प्रहरीले गर्दै आइरहेको छ भने प्रहरीले घटनाको अनुसन्धानसमेत गर्दै आइरहेको छ । विद्यालयबाट घर फर्कने क्रममा खोच लेक गिरेगाडा ग्रामीण सडक अन्तर्गतको लवलेक जङ्गलमा उनको बीभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ