arrow

तीन दिनसम्म हल्का बदली र वर्षा, अब गर्मी बढ्दै जाने

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
climate.jpg

काठमाडौँ । यस वर्ष हिउँद याममा करिब पाँच महिनापछि गत शनिवार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरूले पनि मौसम पूर्वानुमान गर्दै बर्सातपछि क्रमशः तापक्रम वृद्धि भई गर्मी बढ्ने पूर्वानुमान गरेका थिए ।

नेपालमा पश्चिमी वायु प्रवेश गरी गत बिहीबारदेखि शनिवार सम्म मौसम बद्ली हुनका साथै शनिवार अपराह्न हल्का वर्षा पनि भएको थियो । आइतबार बिहानैदेखि साँझसम्म पारिलो घाम लागे पनि बिहान र साँझ पख चिसो बढेको थियो । मौसमी प्रणालीमा केही परिवर्तन आउने भएकाले अझै केही दिन चिसो हुने र नयाँ मौसमी प्रणालीको विकास भई दुई दिनपछि वर्षात हुने मौसमविद्को भनाइ छ ।

मौसमविद् सजिना शाक्यले आगामी बुधवारदेखि नेपालमा पश्चिमी वायु फेरि प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको बताइन् । उनका अनुसार पश्चिमी वायुको प्रभावले पश्चिमी पहाडी भू-भाग तथा अन्य पहाडी भेगमानसमेत बदली र हल्का वर्षाको सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली र थोरै स्थानमा वर्षा हुनेछ । यो क्रम फेब्रुअरी महिनाभर जारी रहनेछ । अब बिस्तारै तापक्रम वृद्धि भई गर्मी बढ्दै जाने बताइएको छ ।

राजधानी काठमाडौँसहित देशभर दिउँसो पख घाम लागे पनि चिसो अझै रहने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले  चिसो अझै रहने तथा तराईका भू-भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

भोलि मङ्गलवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । आगामी २८ गते बुधवार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौँको न्यूनतम दुई दशमलव पाँच र अधिकतम तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा माइनस दुई दशमलव सात डिग्री सेल्सियस रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ