arrow

नेपालको बोर्डर आउट पोस्ट २०५ बाट बढाएर पाँच सय पुर्‍याउने गृहमन्त्रीको घोषणा

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
apf-broder-sima.jpg

काठमाडौँ। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय सिंहदरबार, काठमाडौँको आयोजनामा यही माघ २५ र २६ गते सञ्चालित ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरूबिच समन्वयका क्षेत्रहरू’ विषयक दुई दिने सेमिनार सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २५ गते नेपाली सेनाको मुख्यालय भद्रकाली काठमाडौँमा उद्घाटन गरेको सेमिनार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल चोक स्वयम्भूमा सोमबार आयोजित एक समारोहबिच गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले समापन गरेका हुन् ।

सो कार्यक्रममा गृहमन्त्री थापाले सीमा सुरक्षा तथा व्यवस्थापन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्दै सशस्त्र प्रहरी बल, नेपाललाई नेपाल सरकारले सीमा सुरक्षार्थ डेडिकेटेड फोर्सको रूपमा परिचालन गर्दै सीमा सुरक्षा बलियो बनाइने उल्लेख गरे । उनले सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोस्टको सङ्ख्या २०५ बाट बढाउँदै पाँच सय वटा पुर्‍याउने सरकारको कार्यनीति रहेको उल्लेख गर्दै सीमा सुरक्षा सरकार र गृह मन्त्रालयको मात्र नभई सबैको साझा दायित्व भएकोले आपसी समन्वय तथा सहकार्यमा समान दृष्टिकोण र औपचारिक संयन्त्रबाट प्रभावकारी रूपमा सीमा सुरक्षा र व्यवस्थापन गर्न सकिने यसका लागि सशस्त्र प्रहरी बल, नेपाललाई सम्बद्ध सबै निकायले आवश्यक समन्वय र सहयोग गर्न निर्देशन दिए ।

कार्यक्रममा बोल्दै गृह सचिव महेश्वर न्यौपानेले यस खालका सेमिनारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रूपमा सीमामा खटिइँदा आवश्यक पर्ने थप सैद्धान्तिक तथा प्रभावकारी उपायहरूको खोजी तथा अवलम्बनमा सहयोग पुग्ने उल्लेख गर्नुहुँदै सीमा सुरक्षा तथा व्यवस्थापन नेपाल सरकारको विशेष प्राथमिकतामा रहेको र त्यसका लागि आवश्यक सम्पूर्ण भौतिक स्रोतसाधन तथा अन्य पूर्वाधार निर्माणमा प्राथमिकताका साथ अगाडी बढ्ने बताए । उनले सीमामा सशस्त्र प्रहरीको तैनाथपछि सीमा अपराध नियन्त्रण एवं राजश्व सङ्कलनमा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै कुनै पनि देशको सीमा सुरक्षामा देश गरिब र धनी भन्ने नहुने बताउँदै सशस्त्र प्रहरी बल, नेपालको परिचालनमा आवश्यक बजेट तर्जुमा गरी स्रोतसाधन सम्पन्न बनाइने र सूचना प्रवाहको लागि अन्तर निकाय समन्वय गर्नको लागि विशेष संयन्त्रको विकास गरिने बताए ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपालले शान्ति सुरक्षा तथा सीमा सुरक्षाको उत्तरदायित्व वहन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै सशस्त्र प्रहरी बल, नेपाललाई प्राप्त सहयोग र समन्वयका लागि नेपाल सरकार, गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग लगायत अन्य सम्बद्ध निकायहरूप्रति आभार प्रकट गरे । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालबाट भए गरेका उपलब्धिहरूको चर्चा गर्नुका साथै कोभिड–१९ महामारीमा १२१३ स्थानमा बिओपी तथा एफओबीको माध्यमबाट अहोरात्र सीमा क्षेत्रमा खटिई आवत जावत नियन्त्रण गर्ने कार्य उत्कृष्ट रूपमा सम्पादन गरेको उल्लेख गर्दै चुस्त सीमा सुरक्षा तथा व्यवस्थापनका लागि सीमा स्तम्भ सुरक्षा, खोजी, पहिचान र डिजिटल अभिलेखीकरण तथा संरक्षण कार्यबारेको प्रतिवेदनहरू सम्बन्धित निकायमा समयमै प्रेषित भइरहेको र विगत तीन वर्षदेखि सीमा अतिक्रमण र सीमा मिचिने कार्य नभएको जानकारी गराए ।

कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सङ्गठनको लक्ष्य अनुसार हालसम्म २०५ वटा बोर्डर आउट पोस्टहरू स्थापना भइसकेको र नेपाल सरकारले सशस्त्र प्रहरी ऐन २०५८ को दफा ६ मा व्यवस्था गरेअनुसार नेपालको सीमा सुरक्षा गर्ने जिम्मेवारीलाई पूरा गर्न ओलाङचुङ्गोलादेखि छाङरुसम्म र नवलपरासी सुस्तादेखि कञ्चनपुर ब्रह्मदेवसम्म अहोरात्र खटिई देशको सुरक्षा र राष्ट्रियताको जगेर्नामा उल्लेखनीय योगदान पुर्या‍ईरहेको बताए । उनले सीमा सुरक्षालाई थप मजबुद बनाउन र स्थानीय जनतालाई सहभागी गराउँदै ‘सीमा क्षेत्र विकास योजना’ लागू गर्न सकेमा थप प्रभावकारी हुने समेत बताए ।

कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का सहसंयोजक उपरथी सहदेव खड्काले सीमा सुरक्षा तथा व्यवस्थापनमा प्रभावकारी समन्वयको खाँचो औल्याउदै प्रभावकारी परिचालनको लागि सिमाङ्कन, नक्सा लगायत विविध विषयमा स्पष्ट निर्देशनको व्यवस्था हुनुपर्ने बताए ।

सेमिनारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागबाट कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभाग लगायत सम्बद्ध विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ