arrow

प्रचण्ड नेपाल समूहको र्‍यालीमा यी नेताहरुले गर्दैछन् नेतृत्व, यस्तो छ तयारी

माघ २८ मा प्रचण्ड नेपाल समूहको शक्ति प्रदर्शन

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
prachanda-madhav.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई समूहबीच एकपछि अर्को गर्दै आमसभा गर्ने र देशभरबाट मानिसहरु काठमाडौमा ल्याउन होडबाजी चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको दुरुपयोग गर्दै सयौं गाडी रिजर्भ गरेर काठमाडौमा मानिसहरु ल्याएर आमसभा गरे लगत्तै प्रचण्ड नेपाल समूहले पनि २८ माघमा विशाल जनसभा गर्ने तयारीमा जुटेको छ । प्रचण्ड–नेपाल समूहले पनि देशभरबाट काठमाडौमा मानिसहरु उत्तार्ने गरी तयारी थालेको छ । त्यसका लागि धेरैजसो स्थायी कमिटी सदस्यहरु काठमाडौं बाहिर नै रहेका छन् । उनीहरुले नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई काठमाडौ आइपुग्न निर्देशन दिइसकेका छन् । साथै आफूहरुले ल्याउन मानिसको संख्याको बारेमा पनि केन्द्रीय संघर्ष समितिलाई जानकारी गराउन निर्देशन दिएका छन् । 

केन्द्रीय संघर्ष समितिले तयार पारेको कार्यतालिका अनुसार मध्यान्ह १२ बजे मूल जुलुश सुरु हुनुअघि राजधानीका पाँच स्थानबाट सहायक जुलुश निकालिने छन् । सहायक जुलुशहरु पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट शुरु हुनेछन् । सहायक जुलुशको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गर्नेछन् । जसअनुसार केशरमहलबाट सुरु हुने जुलुश दरबारमार्ग, जमल, कमलादी, असन, ईन्द्रचोक, न्यूरोडहुँदै मूल जुलुशमा सहभागी हुनेछ भने त्यसको नेतृत्व भीमबहादुर रावल, देवप्रसाद गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेललगायतका नेताले गर्नेछन् ।

पुल्चोकबाट सुरु हुने जुलुश कुपण्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धाराको मूल जुलुशमा मिसिनेछ । त्यस जुलुशको नेतृत्व रघुजी पन्त, कृष्णबहादुर महरा, पम्फा भूषाल, र प्रमेश हमालले गर्नेछन् । ललितपुरका केन्द्रीय सदस्य, प्रदेश कमिटी, संघ र प्रदेशका सांसदहरु पनि त्यो जुलुशमा सहभागी हुनेछन् । जमलबाट सुरु हुने जुलुश कमलाक्षी, असन, इन्द्रचोक, न्यूरोड हुँदै सुन्धारा पुग्नेछ । त्यस जुलुशको नेतृत्व लिलामणी पोखरेलसहित केन्द्रीय सदस्यहरुले गर्नेछन् । मूल जुलुश सुन्धाराबाट सुरु भएर वीर अस्पताल, जमल, घण्टाघर, वागबजार, पुतलीसडक, पदमोदय मोडहुँदै प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ।

त्यसैगरी त्रिपुरेश्वरबाट सुरु हुने सहायक जुलुश सुन्धारामा जोडिनेछ । जुलुशको नेतृत्व स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भूषाल, चक्रपाणी खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन र विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन् ।

माईतिघरबाट शुरु हुने जुलुश थापाथली, त्रिपुरेश्वरहुँदै सुन्धारा पुग्नेछ । त्यस सहायक जुलुशको नेतृत्व अमृतकुमार बोहरा, भीम आचार्य, गणेश शाह, गिरिराजमणी पोखरेल, मात्रिका यादव र हरिबोल गजुरेललगायतका नेताले गर्नेछन् । प्रचण्ड–नेपाल समूहले गत १४ माघमा पनि भृकुटीमण्डपमै बिरोधसभा आयोजना गरेको थियो । त्यसलगत्तै प्रधानमन्त्री केपी ओली समूहले नारायणहिटी दरबारमार्गमा आमसभा राखेर शक्ति प्रदर्शन गरेको थियो । सभामा ओलीले आफ्नो समूहले कार्यक्रम गर्ने भन्यो कि सबैठाउँ अपुग भएको भन्दै प्रचण्ड नेपाल समूहलाई व्यंग्य गरेका थिए । सभाअघि ओली समूहले काठमाडौंका १६ स्थानबाट जुलुश निकालेको थियो । शक्ति प्रदर्शनलाई व्यापक बनाउन प्रचण्ड–नेपाल समूहले काठमाडौं बाहिरका अधिकांश जिल्लाबाट नेता कार्यकर्ता तथा शुभेच्छुकहरु ल्याउने तयारी गरेका छन् । उनीहरुले आमसभास्थलचाहि भृकुटीमण्डपनै तय गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ