arrow

नेकपा ओली समूहमा वादल

नेकपा ओली समूहको मर्यादाक्रममा वादललाई पछि राखिदै, संगठनमा किनारा पारिदै 

यूवा संघमा वादल समूहको वहिष्कार

logo
प्रकाशित २०७७ माघ २७ मंगलबार
kp-oli-and-ram-bahadur-thapa-badal.jpg

काठमाडौं । सत्तारुढ दल विभाजित भएपछि ओली समूहमा लागेका गृहमन्त्री रामबहादुर थापा ‘वादल’को मर्यादाक्रम निर्धारण नहुँदै विवाद शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीपछि कसको वरियता अघि भन्ने विवाद कायमै रहेका बेला विवाद शुरु भएको हो । ओली समूहले आयोजना गरेको सभाहरुमा प्रधानमन्त्री ओलीपछिको वरियतामा ईश्वर पोखरेललाई राख्दै आएको र वादललाई तेस्रो स्थानमा राख्न थालिएको छ । हरेक सभाहरुमा ईश्वर पोखरेलपछि मात्रै उनको आसन ग्रहण गराइएको हुन्छ । वक्ता पनि वादलपछि पोखरेल र त्यसपछि ओलीलाई राखिएको हुन्छ । जसले गर्दा ओली समूहमा पोखरेल र वादलबीच मर्यादाक्रमको लफडा शुरु भएको छ ।

ओलीले आफ्नो समूहमा दोस्रो नेताको रुपमा वादललाई ल्याएको चर्चा गरेपनि पोखरेल निकटका नेताहरुले वादललाई तेस्रो वरियतामा राख्ने गरेका छन् । वादल आफ्नो वरियताको विषयमा मौन रहेका छन् । उनले दिनदिनै पूर्व माओवादीका नेता र जनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल र भेटघाट गरिरहेका छन् । वादलले वाइसिएलका नेताहरुसँग पनि छलफल गरिरहेका छन् । तर वादलले आफ्नो समूहको उपस्थितिबारे ओलीसँग केही छलफल गरिरहेका छन् वा छैनन भन्ने बारेमा आफ्नो समूहलाई केही बताएका छैनन । 

वादल मौन

ओली समूहले आफू निकटका जनवर्गीय संगठनहरुको पुर्नगठन गर्दा वादल समूहलाई समेट्न सकेको छैन । प्रेस संगठन नेपालको जिम्मेवारीमा पनि वादल समूहलाई जिम्मेवारी विहिन बनाएको अवस्थामा राष्ट्रिय युवा संघ नेपालको पुर्नगठनसम्म आइपुग्दा वादल समूहका युवा नेताहरुले संघको बैठक नै बहिष्कार गर्नुपर्ने परेको छ । ओली निकट राष्ट्रिय युवा सङ्गठनमा वादल समूहका युवा नेताहरुले वहिष्कार गर्नु तथा ओली समूहबाट पनि असन्तुष्टि उत्पन्न हुनुले भाँडभैलो देखिएको छ । विराटनगरका प्रभावशाली नेताको रुपमा उदाएका परशुराम बस्नेतलाई उपाध्यक्षबाटै विदा गरियो भने किरण पौडेललाई सहसंयोजकमा राखियो । पश्चिमका बचन सिंहलाई अध्यक्ष बनाइएको छ । ओली समूहका पौडेलको पक्षमा माहोल भएपनि सिंहले अध्यक्ष हुने मौका पाएका छन् । पौडेललाई पूर्वमन्त्री महेश बस्नेतले समेत अध्यक्षका लागि प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री ओली आफैले सिंहलाई अध्यक्ष बनाउन निर्देशन दिएका थिए । आइतबारबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटीको बैठकले सोमबार राति बच्चनबहादुर सिंहलाई अध्यक्षमा चयन गर्दै बैठक टुंगिएको थियो ।

गृहमन्त्री वादलको सचिवालयमा रहेका विरु तामाङले संगठन कस्तो बनाउने कसरी पुर्नसंरचना गर्ने भन्ने बारेमा छलफल नभएका कारण आफूहरु संघको बैठकमा नगएको बताएका छन् । ‘हामीले सैद्धान्तिक छलफल पनि गरौं संगठनको संरचनाबारे छलफल गरौ भनेका थियौ उहाँहरुले हतारमा बैठक राख्नुभएछ अहिलेको संरचनामा सहमत हुन सकिएन’, तामाङले भने । उता युवा संघका नेता प्रभातविक्रम कट्वालले समेटेर लैजानका लागि उपाध्यक्ष पद खाली राखिएको बताए । ‘उहाँहरुकै लागि उपाध्यक्ष पद खाली राखिएको छ अन्य जिम्मेवारीको विषयमा छलफल भैरहेको छ’, कट्वालले भने । तामाङको समूहले युवा संघको समानान्तर कमिटी वाइसिएल जन्माउन खोजिरहेका छन् । उनले आफ्नो समूहमा रहेका ५० जना केन्द्रीय सदस्यहरुलाई परिचालन गरेर वाइसिएल व्यूताउन खोजेका हुन् । नेकपासँगै युवा सङ्गठन पनि विभाजन भएपछि सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले पौडेललाई विदा दिएर तीन महिनाका लागि बच्चन बहादुर सिंहलाई अध्यक्ष चुनिएको कट्वालले बताए ।

युवा संघको ३३५ सदस्यीय केन्द्रीय कमिटीमा वादलको पक्षमा ५० भन्दा बढी सदस्य रहेको भएपनि उनीहरु भने सहभागी नभएको कट्वालले स्वीकार गरे । ‘३०–३५ जना वादल समूहमा देखिएको र उहाँहरु  बैठकमा आउनु भएन, उहाँहरुलाई मिलाएर लैजान उपाध्यक्ष खाली राखिएको छ’, कट्वालले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ