कुन दिन ओलीले आफू आजीवन प्रधानमन्त्री भनेर अध्यादेश ल्याउन सक्छन् – पम्फा भुषाल
प्रकाशित २०७७ माघ २८ बुधबार
864
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई आजीवन प्रधानमन्त्री भनेर अध्यादेश ल्याउन सक्ने बताएकी छिन् ।
ओलीले पटक पटक असंवैधानिक कदम चालिरहेको भन्दै उनले आफूलाई जे मन लाग्छ त्यही कदम चाल्दै जाने हो भने ‘कुन दिन ओलीले आफू आजीवन प्रधानमन्त्री भनेर अध्यादेश ल्याउन सक्छन्’ भनेकी छिन् ।
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा भुषालले सरकारले गराउने चुनावका बारेमा ‘यस्ता चुनाव त निरंकुश सरकारले पहिले पनि गरेका थिए’ भनिन् ।
उनले प्रचण्ड–नेपाल समूहको धारणा राख्ने क्रममा भनिन्, ‘असंवैधानिक कदमविरुद्ध लडिरहेका छौं त्यसकारण त्यसको विकल्प सोच्नै सक्दैनौं ।’
उनले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दावी गर्दै ‘४४१ जना केन्द्रीय सदस्यमध्ये को कता छन् भनेर हाजिर गराओस् अनि थाहा भैहाल्छ नि को आधिकारिक’ भनिन् ।
तर नेतृ भुषालले अहिलेको वस्तुस्थितिबारे स्पष्ट पार्दै भनिन्, ‘जनताले लेखेको संविधानमाथि त कु गर्नेले आधिकारिक पार्टी मेरै हो भनेर भने पनि के फरक पर्छ’ भनी ओलीलाई प्रहार गरिन् ।
संसद पनि पुनस्र्थापना हुने, अहिले चुनाव पनि नहुने र आफूहरु नै आधिकारिक पार्टी भएको दाबीसहित उनले भनिन्, ‘केपी ओली भनेको निर्वाचन आयोग र केपी ओली भनेको सर्वोच्च अदालत हैन । संवैधानिक निकायमा रहेका पदाधिकारीहरुले संविधानअनुसार नै निर्णय र फैसला गर्नुहुन्छ ।’
उनले थप स्पष्ट पार्दै भनिन्, ‘केपी ओलीले संविधानको धुजाधुजा पार्दैमा अरुले पार्छन् भन्ने छैन नि ।’
उनले बुधबार राजधानीमा हुने प्रचण्ड–नेपाल पक्षको विरोध सभालाई ओली समूहले माघ २३ गरेको जनसभासँग तुलना गर्न पनि आग्रह गरिन् । उनले भनिन्, ‘जनता पनि हेरौं न कसको पक्षमा रहेछन् ।’