arrow

जनता उतार्ने प्रतिस्पर्धा

प्रचण्ड–नेपाल पक्षको काठमाडौंमा शक्ति प्रदर्शन, ओलीको जनसभालाई चुनौती

logo
प्रकाशित २०७७ माघ २८ बुधबार
prachanda-madhav.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले बुधबार (माघ २८ गते) राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको ओली पक्षले सत्ताको दुरुपयोग गर्दै सयौं गाडी रिजर्भ गरेर काठमाडौमा मानिसहरु ल्याएर माघ २३ गते जनसभा गरे लगत्तै प्रचण्ड–नेपाल समूहले पनि बुधबार विशाल जनसभा गर्न लागेको हो । 

ओली समूहले तीन लाख जनता उक्त जनसभामा उतार्ने तयारी गरेको भए पनि मात्र ३५ हजारको हाराहारीमा जनता आएको भन्दै सुरक्षाकर्मीहरुको ब्रिफिङपछि यसबारेमा बोल्नै छाडेको बताइन्छ । प्रचण्ड–नेपाल समूहकी नेतृ पम्फा भुषालले कसका कति मानिस आउँछन् तुलना गर्न चेतावनी दिएकी छिन् । 

प्रचण्ड–नेपाल समूहले पनि देशभरबाट काठमाडौंमा मानिसहरु उतार्दैछ । जनता जुटाउन यो समूहका धेरैजसो स्थायी कमिटी सदस्यहरु काठमाडौं बाहिरै रहेका थिए । उनीहरुले नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई काठमाडौं आउन निर्देशन दिएसँगै बुधबार यसको आकार ओलीको भन्दा ठूलो हुने आँकलन गरिएको छ । 

केन्द्रीय संघर्ष समितिले तयार पारेको कार्यतालिका अनुसार मध्यान्ह १२ बजे मूल जुलुश शुरु हुनुअघि राजधानीका पाँच स्थानबाट सहायक जुलुश निकालिने छन् । सहायक जुलुशहरु बिहान ११ बजेदेखि पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट शुरु हुनेछन् । सहायक जुलुशको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गर्नेछन् । 

जसअनुसार केशरमहलबाट शुरु हुने जुलुश दरबारमार्ग, जमल, कमलादी, असन, ईन्द्रचोक, न्यूरोड हुँदै मूल जुलुशमा सहभागी हुनेछ भने त्यसको नेतृत्व भीमबहादुर रावल, देवप्रसाद गुरुङ, शक्ति बस्नेत, देवेन्द्र पौडेललगायतका नेताले गर्नेछन् ।

पुल्चोकबाट शुरु हुने जुलुश कुपण्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धाराको मूल जुलुशमा मिसिने छ । त्यस जुलुशको नेतृत्व रघुजी पन्त, कृष्णबहादुर महरा, पम्फा भुषाल, र प्रमेश हमालले गर्नेछन् । ललितपुरका केन्द्रीय सदस्य, प्रदेश कमिटी, संघ र प्रदेशका सांसदहरु पनि त्यो जुलुशमा सहभागी हुनेछन् । जमलबाट शुरु हुने जुलुश कमलाक्षी, असन, इन्द्रचोक, न्यूरोड हुँदै सुन्धारा पुग्नेछ । 

त्यस जुलुशको नेतृत्व लिलामणी पोखरेलसहित केन्द्रीय सदस्यहरुले गर्नेछन् । मूल जुलुश सुन्धाराबाट सुरु भएर वीर अस्पताल, जमल, घण्टाघर, वागबजार, पुतलीसडक, पदमोदय मोडहुँदै प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ।

त्यसैगरी त्रिपुरेश्वरबाट शुरु हुने सहायक जुलुश सुन्धारामा जोडिनेछ । जुलुशको नेतृत्व स्थायी समिति सदस्यहरु सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, घनश्याम भूषाल, चक्रपाणी खनाल, जनार्दन शर्मा, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन र विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन् ।

माइतीघरबाट शुरु हुने जुलुश थापाथली, त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ । त्यस सहायक जुलुशको नेतृत्व अमृतकुमार बोहरा, भीम आचार्य, गणेश शाह, गिरिराजमणी पोखरेल, मात्रिका यादव र हरिबोल गजुरेललगायतका नेताले गर्नेछन् । 

प्रचण्ड–नेपाल समूहले गत १४ माघमा पनि भृकुटीमण्डपमै विरोधसभा आयोजना गरेको थियो । त्यो विरोधसभा भन्दा यो निकै ठूलो संख्यामा हुने दाबी नेताहरुले गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ