arrow

झाँक्रीलाई राज्य विरुद्धको कसुर, पक्राउ पुर्जी दियो प्रहरीले

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
Ramkumari-jhakri-new.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्य विरुद्धको कसुरको दफा ५८ अनुसार प्रहरीले पक्राउ गर्न पक्राउ पुर्जी दिएको छ । 

अहिले शंखमुलस्थित उनको निवासमा पत्र लिएर पक्राउ पुर्जीसहित प्रहरी पुगेको छ । उनले आफूलाई पक्राउ गर्न पक्राउ पुर्जी लिएर आउन भनेकी थिइन । 
अनेरास्ववीयु नेतृ आरती लामाले पक्राउ पुर्जी पढेर सुनाएकी छिन् । 

अहिले उनको निवासमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अनेरास्वकीयुका विद्यार्थीहरूले भने विरोध गरिरहेका छन् । 
झाँक्रीको निवासमा प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताहरू पनि धमाधम पुग्ने क्रम जारी छ । अहिले उनले निवासको गेटबाट उपस्थित भिडलाई सम्बोधन गर्ने तयारी गरिरहेकी छिन् । 

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि बोलेको विषयलाई लिएर प्रहरीले पक्राउ गर्न खोजेका बताइएको छ । 

बुधवार मात्रै पनि झाँक्रीले प्रतिनिधिसभा विघटनको विरोधमा भएको विरोध सभालाई सम्बोधन गर्दै सन्की प्रधानमन्त्रीको प्यादा बन्ने एउटा महिलाको विषयमा बोल्न पाइने बताउँदै सार्वजनिक पदमा बसेपछि त्यसको लिङ्ग नहुने र ऊ सार्वजनिक पदधारी हुने जिकिर गरेकी थिइन् । 

उनले मुखको कालो टेप खोल्दै ‘निरङ्कुशताको साक्षी बस्ने विरुद्ध बोल्न पाइन्छ’ भनेकी थिइन् । उनले कुनै संस्थाको विरोधमा नभई व्यक्ति र प्रवृत्तिका विरुद्ध बोलेको प्रस्ट परेकी थिइन् । 

कार्यक्रममा झाँक्रीले आफू विरुद्ध महिला अस्मिताको कुरा उठाउँदै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने महिला संघले भागरथी भट्टको न्यायका लागि ज्ञापन पत्र बुझाए की बुझाएनन् भन्दै प्रश्न गरेकी थिइन् । 
झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारले गत पुस ५ गते संसद् विघटन गरेपछि आफूलाई ज्यानको खतरा रहेको सामाजिक सञ्जालमार्फत बताएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ