arrow

क्रान्तिकारी कम्युनिस्ट पुनः एक ठाउँमा आउन वैद्यको आग्रह

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
mohan-vaidhya.jpeg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले क्रान्तिकारी कम्युनिस्ट घटक पुनः एक ठाउँमा आउन आग्रह गरेका छन् । राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहीबार आयोजित चार कम्युनिस्ट पार्टीले आयोजना गरेको रणनीतिक मोर्चा घोषणा सभामा बोल्दै महासचिव  वैद्यले  क्रान्तिकारी कम्युनिस्ट घटक पुनः एक ठाउँमा आउन आग्रह गरेका हुन् ।

धेरैले आफूलाई कम्युनिस्ट भन्दै आए पनि देशमा सच्चा कम्युनिस्ट थोरै रहेको महासचिव वैद्यले बताए ।  उनले जनगणतन्त्र र समाजवाद स्थापना अझै बाँकी रहेको उल्लेख गरे ।  स्वाधीनताको रक्षा र जनताको हकका लागि लड्न संयुक्त मोर्चाको आवश्यकता रहेको र त्यसैको प्रयास भइरहेको वैद्यले स्पष्ट पारे । उनले नेत्रविक्रम चन्द विप्लव समूहका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारसँग माग गरे । विप्लवमाथि लगाइएको प्रतिबन्ध हटाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नयाँ चिन्तनका साथ कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनु जरुरी रहेको बताए । जनतालाई एकताबद्ध गरी जनताकै शासन स्थापना गर्नतर्फ आफूहरूको मोर्चा अग्रसर रहेको उनले उल्लेख गरे ।

 कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले जनताले परिवर्तनको आभास नपाएकाले नयाँ क्रान्ति आवश्यक भएको बताए । संसद् पुनर्स्थापना गरेर मात्र परिवर्तन सम्भव नहुने उनको भनाइ थियो ।

सो अवसरमा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले रणनीतिक मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरिएको जानकारी गराइएको थियो ।

मोर्चाले पहिलो चरणको कार्यक्रम अन्तर्गत आगामी फागुन ६ गते रुपन्देहीको बुटवलमा, फागुन १४ गते कैलालीको धनगढीमा तथा फागुन १८ गते सुनसरीको इटहरीमा जनसभा गर्ने भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ