arrow

परमात्माको दर्शन गर्न घर व्यवहार छाड्नु पर्छ त?

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ माघ २९ बिहिबार
sivapuri-baba.jpg

प्रश्न :- बाबा, आत्म रक्षा गर्न लाग्दा हिंसा हुन गयो भने के गर्ने ?
उत्तर :- आत्म रक्षा गर्न लाग्दा हिंसा हुन गयो भने दोष हुँदैन, तर आत्म रक्षार्थ बाहेक जानाजान अरूलाई चोट पुराउनु भने हुन्न, दोषको भागी हुनुपर्छ । तपाईँलाई कसैले हानी नोक्सानी पुर्‍यायो भने तपाईँले उसलाई माफ दिन सक्नुहुन्छ तर उसले पछि पनि त्यस्तो नोक्सानी नगर्ला भन्न कहाँ सकिन्छ र ?

प्रश्न :- गीतामा 'सर्ब धर्मान् परित्याज्य... ' भनेको के बाबा?
उत्तर :- यसको मतलब स्वधर्म बाहेकका नचाहिने विषयहरू छोड्ने हो । कर्तव्यमा लाग्नुस्, परमात्मा चिन्तन गर्नुस् । परमात्माको ज्ञान विनाको मनुष्यको जीवनको केही सार छैन ।

प्रश्न स्वधर्म पालना गर्न समाजमा चलिआएको रीति स्थिति छाड्नु पर्दैन त बाबा?
उत्तर :- साधारणता पर्दैन । हाम्रो पारिवारिक जीवन बिताउन हामीलाई समाजको पनि केही सहयोग चाहिन्छ । छिमेकीलाई माया गर्नुस्, प्रेम गर्नुस्, परिआएको बेलामा मद्दत गर्नुस् । तपाईँलाई परिआएको बेलामा उनीहरू पनि सहयोग गर्न तत्पर हुन्छन् । यसरी व्यवहार मिलाउँदै, जीवन मुक्त गुरुले बताउनु भए अनुसारको शिक्षा पालना गर्दै जानुस्, लक्षमा पुगिन्छ ।

प्रश्न :- बाबा, जीवन मुक्त गुरु किन चाहिने होला?
उत्तर :- जीवन मुक्त गुरुले तपाईँको मनस्थिति, सजिलैसङ थाहा पाउँछन् । एम.ए पास गरेको गुरुले स्कुलमा पढ्ने विद्यार्थीलाई सिकाउँदा उसको स्तर, मनस्थिति हेरेर पढाए जस्तै उहाँहरूले पनि त्यही स्तरको उपदेश दिँदै जानुहुन्छ र साधकलाई केही अप्ठेरो पर्‍यो भने समाधान सजिलो हुन्छ ।

प्रश्न :- बाबा, परमात्मा दर्शन गर्न घर व्यवहार छाड्नु पर्छ त?
उत्तर :- भगवान् बुद्धले पनि भन्नुभएकै छ, मानिसले घर मै बसेर पनि सम्यक् जीवन बिताएर परमात्मा दर्शन गर्न सक्छ ।

प्रश्न :- बाबा, गुरु कसरी पाउने होला त?
उत्तर :-ः तपाईँलाई भित्री हृदय देखि नै गुरुको चाहना हुनुपर्छ । रमण महर्षि जस्ता आत्म दर्शी महापुरुषहरू तपाईँलाई बाटो देखाउन आइपुग्नु हुन्छ ।

प्रश्न :- बाबा, हजुरले मनुष्यले आफ्नो जीवनलाई अनुशासित तुल्याउनुपर्छ आज्ञा भएको छ । हामीलाई अनुशासन किन चाहिने ?
उत्तर :- अनुशासन नभएको पुरुष जो कोही भए पनि मनुष्यको रूपमा पशु भने हुन्छ ।

बाबाको व्यक्तिगत जीवनबारे पनि केही केहीले प्रश्न गर्दथे, बाबा, तपाईँको उमेर कति भयो ? भनेर प्रश्न गर्दा उहाँको जवाफ थियो, तपाईँलाई यसबाट फाइदा हुन्छ र ? । यदि तपाईँलाई जानकारी नै चाहिन्छ भने म सन् १८२६ मा जन्मेको हुँ भन्ने जवाफ पाएका थिए ।

एक जना विदेशीले सन् १९६१ को अप्रिल तिर उहाँलाई बाबा, हजुर यो भौतिक देहमा कति बस्ने बिचार छ भनेर प्रश्न गर्दा श्री बाबाले उनलाई 'करिब २ वर्ष जति, किनभने शरीरमा केही मात्र तागत बाँकी छ' भन्ने जवाफ दिनुभएको थियो ।

त्यसै गरी एक जना विदेशीले सन् १९६२ को सुरु सुरुमा श्री बाबालाई भेट गरेर फर्कने बेलामा 'बाबा, यस पटक म एक्लै आएँ, हजुरको आज्ञा हुन्छ भने म अर्को पटक आउँदा श्रीमती पनि लिएर आउँछु'  भनेका थिए । श्री बाबाले उनलाई, 'ल्याउनुस्, तर हतार गर्नुस्, किनभने मैनबत्ती बलेको धेरै भई सक्यो, मलाई थाहा छ, यो धेरै समयसम्म बलि रहँदैन' भन्ने जवाफ दिनुभएको थियो ।

 यसरी आफू कहाँ जिज्ञासा लिएर आउनेहरूको शङ्का समाधान गर्दै हाल समाधि मन्दिर भएको कुटीमा २०१९ साल माघ १५ गते सोमवार बिहान करिब ६ बजे माघ शुक्ल पक्ष तृतीया तदनुसार जनवरी २८, १९६३ मा उहाँले आफ्नो भौतिक शरीरलाई त्याग गर्नुभएको थियो ।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ