arrow

भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबिच झडप: एक प्रहरीको टाउको फुट्यो, एकको हात भाँचियो

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
apf1.jpg

काठमाडौं। भारततर्फबाट बालुवा तस्करीका लागि पर्साको ओरीया खोलामा आएका बालुवा तस्कर र सशस्त्र प्रहरी बिच झडप भएको छ । पर्साको जीराभवानी गाउँपालिका १ पिपरडारीस्थित ओरीया खोलामा बालुवा लिन आएका भारतीय तस्करलाई रोक्न पुगेका सशस्त्र प्रहरीहरूमाथि तस्कर पक्षबाट आक्रमण भएको हो ।

भारतीय तस्करहरूले सो खोलामा भारतीय ट्याक्टर ल्याएरै खुल्लम-खुल्ला दैनिक सयौं ट्याक्टर बालुवा तस्करी गर्दै आइरहेका छन् । सो क्रममा शुक्रवार बिहान खोलामा पुगेका सशस्त्र प्रहरीमाथि तस्कर समूहबाट आक्रमण भएको हो ।

सो क्रममा सशस्त्र प्रहरीतर्फका जवान आयुष राय यादवको टाउको फुटेको छ । यस्तै जवान महेशप्रसाद यादवको हात भाँचिएको छ । 

सशस्त्र प्रहरीका डिआइजी एवम् प्रवक्ता राजु अर्यालले तस्कर समूहको आक्रमणबाट एक जनाको कानमाथिको भाग कन्चटमा चोट लागेको र अर्का जवानको हात भाँचिएको पुष्टि गरे । 

डिआइजी अर्यालका अनुसार उनीहरूमध्ये आयुषको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको र हात भाँचिएका महेशप्रसादलाई काठमाडौंमा रहेको सशस्त्र प्रहरी अस्पतालमा ल्याउने तयारी भइरहेको छ । 

अर्का एक घाइते जवानको भने सेढवास्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

भारतसँग सीमा जोडिएको पर्साको पिपरडारी गाउँस्थित ओरीया खोलामा भारतीय पक्षबाट निरन्तर बालुवा तस्करी हुँदै आइरहेको छ । तस्करहरू समूह नै बनाएर आएको सूचनापछि शुक्रवार बिहान सशस्त्र प्रहरी निरिक्षकद्वय बसन्त जिसी र केदार राईको नेतृत्वमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट पिडारीगुठी र महादेवपट्टीबाट नेपाली सुरक्षाकर्मीहरूको टोली त्यसतर्फ गएको थियो । 

सो क्रममा सशस्त्र प्रहरीले बालुवा भर्दै गरेका तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका ट्याक्टर नियन्त्रणमा लिएर फर्कंदै गर्दा घरेलु हतियारसहित आएका भारतीय तस्करहरूले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ