- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा मुठभेड सृजना गराउन चाहेको आरोप लगाएका छन् ।
उनले नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ पर्नु त्यसैको संकेत भएको बताए । नेपाल शिक्षक संघ मादी गाउँपालिका इकाइद्वारा शनिबार पोखरामा आयोजित कार्यक्रममा नेता थापाले निर्वाचन आयोगले ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष भएको एउटै पार्टीलाई चिन्ने बताए ।
आयोगले अब दल दर्ताको प्रक्रिया अघि बढाउन लागेको भन्दै ओली र प्रचण्ड दुवैले नेकपा दावी गर्दै दल दर्ता गर्न जाँदा आयोगले नेकपा दर्ता गर्न कुनैपनि पक्षलाई नदिने स्पष्ट पारे ।
नेता थापाले भने, ‘केपी ओलीले त उदाउँदो सूर्य चुनाव चिन्ह भएको नेकपा एमाले दल दर्ता गरिसकेका छन् । उनी त्यही दल र चिन्हमा चुनाव लड्छन् । प्रचण्डहरुसँग न दल हुन्छ, न चुनाव चिन्ह । यस्तो अवस्थामा प्रचण्डहरु चुप लागेर बस्छन् त बस्दैनन् । यो भनेको सिधै मुठभेड निम्तिनु हो ।’
सरकार र सडकमा रहेको नेकपाको चरित्र र प्रवृत्ति एउटै
नेता थापाले सरकारमा रहेको नेकपा र सडकमा रहेको नेकपालाई हेर्ने दृष्टिकोण १९, २० भए पनि उनीहरु दुवैको चरित्र र प्रवृत्ति एउटै भएको बताए ।
एकीकृत भएर नेकपा बनेपछि संसदको बहुमत प्राप्त दल भएको तर शालीन भएर देश हाक्न नसकेको भन्दै उनले पटक पटक कानून मिचिंदा पनि चुँसमेत नबोल्ने प्रचण्ड-नेपालको चरित्र र प्रवृत्ति ओलीको भन्दा फरक नभएको बताए ।
नेकपाका सबै नेताहरुले पार्टी र संसदमा जिम्मेवार भएर काम गर्न नसकेकै कारण देश यो अवस्थामा आएको टिप्पणी गरे । प्रधानमन्त्री अोलीले संसद विघटन त्यत्तिकै नगरेको भन्दै सबैको नाडी छामेर अघि बढेको दावी गरे ।
संसद पुनस्थापनाको विकल्प छैन्
नेता थापाले सर्वोच्च अदालतसंग संसद पुनस्थापना गर्नुको विकल्प नै नभएको बताए । नेपालको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नै नभएको भन्दै उनले सर्वोच्चले पनि त्यही संविधानमा टेकेर फैसला गर्ने स्पष्ट पारे ।
‘मलाई सर्वोच्च अदालतप्रति पूर्ण विश्वास छ । संसद पुनस्थापना हुन्छ’, उनले भने । आजको दिनमा नेपाली कांग्रेसको एकमात्र मुद्दा भनेको संसद पुनस्थापना हुनुपर्छ भन्ने रहेको उनले बताए । कांग्रेसले संसद पुनस्थापना गर्नुपर्छ भन्ने पक्षमा निर्णय गरेको भन्दै यसबाट दायाँबायाँ गर्न नहुने नेता थापाले बताए ।
कांग्रेसले प्रतिपक्षीको भूमिका सही ढंगले निर्वाह गर्न नसक्दा कांग्रेससंग जनता रिसाएको भन्दै उनले अब जनताको घरघरमा र टोलटोलमा जाने बेला आएको बताए । यहि बेलामा कम्युनिष्टको गुँडमा हात हालेर भत्काउने सहि बेला आएको नेता थापाले जोड दिए ।
ओलीको धर्म र राष्ट्रप्रेम नक्कली
आजसम्म कहिल्यै पशुपति नढोगेका प्रधानमन्त्रीले आज यो अवस्थामा पशुपति गएर नक्कली हिन्दूवादी बन्न खाजेको टिप्पणी गरे । विदेशी माताले खुवाएको होली वाइन खाएका प्रधानमन्त्रीले अहिले सनातन हिन्दू धर्म रक्षाका लागि उभिएको होइनन् नेपाली जनताको धार्मिक भावनामाथि खेल्ने प्रयास गरेको आरोप लगाए ।
हिजो गायत्री मन्त्रको सट्टा जबज मन्त्र पढे हुने भन्ने ओलीको राष्ट्रप्रेम र धर्मप्रेम सबै नक्कली भएको भन्दै नेता थापाले ओलीका यी सबै नक्कली प्रेम जनतालाई राम्रोसंग चिनाउनुपर्नेमा जोड दिए ।
कांग्रेसको दिन आयो : यज्ञबहादुर थापा
नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं पूर्व कानून मन्त्री यज्ञबहादुर थापाले नेपालमा कम्युनिष्टको दिन सकिएको र कांग्रेसको दिन पुनः आएको बताए ।
मुलुकलाई सही निकाश दिने र जनताको भलो चाहने एकमात्र पार्टी कांग्रेसमात्र भएको भन्दै उनले अब कांग्रेसीहरु जाग्न र जगाउन मात्रै बाँकी रहेको स्पष्ट पारे ।