- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिन्धुली । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय नेता राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने बताएका छन् । २६ औँ जनयुद्ध दिवसको सन्दर्भ पारेर आयोजित कार्यक्रममा नेता श्रेष्ठले यस्तो बताएका हुन् । नेता श्रेष्ठले पटक पटकको संसद् विघटनको घट्नाले देशमा राजनीतिक स्थिरता, शान्ति र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद् हुनुपर्ने बताए ।
थारो भैँसी र बिगौतीको प्रसङ्ग उठाउँदै उनले भने, ‘प्रतिगमनको जगमा हुने चुनावले सही ठाउँमा पुर्याउँदैन । थारो भैँसी ब्याउँछ, बिगौती खाउँला भन्नु र ओलीले चुनाव गराउँछ, जितौँला भन्नु उस्तै कुरा हो । थारो भैँसी ब्याउँदैन ।’
उनले माओवादी जनयुद्ध लगायत मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, थारु, शिल्पी लगायतका आन्दोलनले उठाएका सङ्घीयता, समानुपातिकता र समावेशिता जस्ता अग्रगामी परिवर्तनका मुद्दाहरू अझै अधुरो रहेको बताए ।
पार्टीको कार्यकारिणी सदस्य रहेका नेता श्रेष्ठले जनयुद्धका शहीदहरूप्रति श्रद्धाञ्जली तथा बेपत्ता र घाइतेहरूप्रति सम्मान व्यक्त गर्दै त्यति बेला उठाइएका जातीय मुक्ति र वर्गीय मुक्ति दुवै अधुरो रहेको बताए । उनले जनता समाजवादी पार्टी माओवादी जनयुद्धको बेला उठाएका अग्रगामी परिवर्तनका एजेन्डाहरूको सच्चा वैचारिक उत्तराधिकारी भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले देशमा स्थायी शान्तिका लागि मानिसले मानिसलाई गर्ने सबै खाले शोषण उत्पीडनबाट जनतालाई मुक्त गर्नुपर्ने बताउँदै धनीहरूका लागि जुनसुकै व्यवस्था भए पनि फरक नपर्ने तर गरिवका लागि समाजवाद नै आवश्यक भएको बताए । नेपालमा आफूलाई समाजवादी भन्ने नेपाली काँग्रेस मात्र होइन कम्युनिस्ट पार्टीहरूले पनि मार्क्स र लेनिनका जातीय मुक्तिसम्बन्धी विचार ग्रहण नगरेकाले सही रूपमा सङ्घीयता लागू गर्न नचाहेको बताए ।
समायोजन कार्यक्रममा श्रेष्ठले पार्टीको मार्गदर्शक सिद्धान्त समुन्नत सङ्घीय समाजवादबारे बोल्दै नेपाल जस्तो बहु जातीय बहुभाषिक मुलुकमा समाजवादले वर्गीय समस्या हल गरे पनि जातीय समस्या हल नहुने भएकाले सङ्घीयतालाई पनि समाजवादसँग जोड्नु परेको बताए । आफ्नो पार्टीले वर्तमान प्रशासनिक सङ्घीयतालाई पहिचानसहितको सङ्घीयतामा रूपान्तरित गरी देशलाई समाजवादी लोकतान्त्रिक गणतन्त्रको दिशामा लान चाहेको बताए ।