arrow

देशले संसद् खोजेको छ : निधि

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
bimalendra_nidhi_final.jpg

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशले संसद् पुनर्स्थापना वा निर्वाचन जसरी पनि संसद् खोजेको बताएका छन् ।

संसद् विघटनको असंवैधानिक तथा अलोकतान्त्रिक कदमका विरुद्ध सप्तरीको राजविराजमा सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै निधिले देशले संसद् पुनर्स्थापना वा निर्वाचन जसरी भए पनि संसद् खोजेको बताए । सम्बोधनका क्रममा निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई नै खतरामा पार्न खोजेकोसमेत दाबी गरे ।  

‘संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानमाथि प्रहार गरे, अब संविधान जोगाउन दुई विकल्प मात्रै बाँकी छ, एउटा संसद् पुनर्स्थापना अर्को चुनाव, देशले जसरी पनि संसद् खोजेको छ ।’

निधिले जनताले निर्वाचनमार्फत मत जाहेर गरेर संसद् गठन गर्न सक्ने वा त्यो भन्दा अघि अदालतले नै संसद् पुनर्स्थापना गर्न सक्ने बताए ।

उनले काँग्रेस भने दुवै विकल्पका लागि तयार भएर बसेको बताए । ‘काँग्रेस संसद् पुनर्स्थापना भए पनि तयार छ, चुनाव भए पनि काँग्रेस पछाडि हट्दैन, अघि बढ्न तयार छ,’ निधिले सम्बोधनका क्रममा थप्दै भने ।



नयाँ