arrow

'ओलीलाई जनताले दक्ष प्रजापतिको जस्तो बोकाको टाउको जोडी दिन्छन्'

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
Nepali-Congress-leader-Pradip-Giri.jpg

उदयपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य प्रदीप गिरीले ओलीको सन्की पारालाई जनताले दक्ष प्रजापतिको जस्तो टाउकोमा बोकाको टाउको जोडिदिने बताएका छन् ।

सोमबार नेपाली काँग्रेस उदयपुर जिल्ला समितिले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्ने क्रममा स्वथानी कथाको स्मरण गर्दै उनले भने, 'दक्ष प्रजापतिलाई धेरै दक्ष हुँदा जसरी महादेवले बोकाको टाउको जोडिदिए त्यसै गरी प्रधानमन्त्री ओली पनि धेरै दक्ष भएका छन् उनलाई पनि नेपाली जनताले टाउकोमा  बोकाको टाउको जोडी दिन्छन् ।'

ओलीको सनकी पाराले देशभरका जनताले दुख पाएको बताउँदै उनले बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार अहिलेको संविधानले परिकल्पना नै नगरेको जिकिर गरे ।

'विभिन्न देशका आफ्ना आफ्ना किसिमका संविधान छन् अन्य देशको जस्तो नेपालमा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार छैन,' उनले भने, 'अन्य देश लगायत नेपालकै विगतका अनुभव बटुलेर बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार कटौती गरिएको हो ।'

प्रधानमन्त्री ओलीको सनकी पारालाई राष्ट्रपतिले पनि जी हजुरको पारामा बिपक्षी दलको नेता तथा अन्य सरोकारवाला हरूसँग परामर्श समेत नगरी स्वीकृत गरेर त्यो संस्थाको गरिमा समेत नराखेको उनको भनाई थियो ।

नेपाली काँग्रेसले जन्माएको संविधानको रक्षा गर्न नेपाली काँग्रेस नै अगाडी सर्नु पर्ने बताउँदै उनले अदालतमा विचाराधीन अवस्थामा रहेको संविधानको रक्षा अब सर्वोच्च अदालतले गर्ने र उसले संविधानको अक्षरशः व्याख्या गरेर निर्णय गर्ने विश्वास ब्यक्ता गरे ।

यस्तै बिरो सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले संविधान तथा सङ्घीयताको जननी काँग्रेस भएको हुँदा यसको रक्षा  र संवर्द्धन नेपाली काँग्रेसले नै गर्नु पर्ने बताइन ।

विरोध सभामा नेपाली काँग्रेस उदयपुरका सभापति विदुर बस्नेत, प्रतिनिधि सभा सदस्य प्रमीला राई, प्रदेश सभा सदस्य हिमाल कार्की, क्षेत्रीय सभापतिहरू राम कुमार खत्री, भोजराज खतिवडा, क्षेत्रीय सह-सभापति वसन्त बस्नेत लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

विरोध सभा अघि काँग्रेस उदयपुरको पार्टी कार्यालयबाट निकालिएको विरोध र्‍याली उदयपुरको सदरमुकाम गाईघाट बजार परिक्रमा गरेर पिपल चोकमा आएर बिरो सभामा परिणत भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ