arrow

महेश बस्नेतलाई निषेध गर्ने उपायको खोजी गर्दै युवा संघ

महेश बस्नेतकै कारण संघमा अन्तरविरोध, बादल समूह बहिष्कारमै

logo
प्रकाशित २०७७ फागुन ४ मंगलबार
mahesh-basnet2.jpg

काठमाडौं । नेकपा विभाजनपछि भक्तपुरका सांसद महेश बस्नेतले आफूलाई पार्टीभित्र स्थापित गराउन देशव्यापी दौडधुप शुरु गरेका थिए । उसो त वालुवाटारलाई खुसी पार्न एक इसारामा पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई लिएर जसपाको सांसद अपहरणमा पनि खटिए । अहिले भने युवा संघको नेतृत्वले नचाहँदा नचहादै बस्नेतले त्यसभित्र अन्तर्विरोध उत्पन्न गराएर आफूलाई देशव्यापी भाषणवाजको रुपमा उभ्याए । उनको त्यो गतिविधि र भाषणमा भने युवा संघका नेताहरुले निरन्तर असहमति राखेपछि उनले पार्टीको माथिल्लो तहलाई प्रयोग गरेर रमेश पौडेललाई अध्यक्षबाट हटाएर अहिले युवा संघ आफ्नो कब्जामा लिने प्रयास गरेका छन् । अहिले ओली समूहको युवा संघका अध्यक्ष बनेका बचन सिंह बस्नेतको पक्षमा नभएपनि उनी बस्नेतको भनाईभन्दा बाहिर जाने अवस्था पनि छैन । बस्नेतले किरण पौडेललाई अध्यक्ष बनाउन चाहेको भएपनि त्यहाँ भित्रका रमेश पौडेल खेमाका युवाहरुले  किरण पौडेललाई अध्यक्ष हुनबाट बञ्चित गरिदिए । अहिले किरण पौडेल सहअध्यक्ष मात्रै भएका छन् ।

रमेश पौडेललाई कुनै पनि हालतमा हटाउछु भनेर लागेका बस्नेतले किरण पौडेललाई अध्यक्ष बनाउने देखेपछि बचन सिंहलाई अघि सारेर किरणलाई रोकेका थिए । एक हप्ता अघि भएको केन्द्रीय कमिटीको बैठकले सिंहलाई अध्यक्ष बनाएपनि अहिले युवा संघभित्र बस्नेतलाई कसरी प्रवेश निषेध गराउने भन्ने विषयमा छलफल हुन थालेको छ । बस्नेतले अनावश्यक रुपमा भाषणवाजी गर्ने गरेको र सर्वेसर्वा आफू हुँ भन्ने तरिकाले हस्तक्षेप गर्न थालेका कारण संघभित्र बस्नेतलाई निषेध गर्ने उपाएको खोजी थालिएको छ । रमेश पौडेल अध्यक्ष भएपछि बस्नेतलाई युवा संघमा निषेध गरिएको थियो । रमेश पौडेलले बस्नेतलाई कुनै पनि कार्यक्रम नबोलाएपछि आक्रोसित बनेका बस्नेतले पछिल्लो समय शंकर पोखरेललाई सहमत गराएर रमेश पौडेललाई हटाउन सफल भएका थिए । 

युवा संघको केन्द्रीय कमिटी बैठकमा बादल पक्षका युवाहरुले बहिष्कार गरेर विवाद उत्पन्न गराएको बेला ओली समूहभित्र पनि विवाद शुरु भएको छ । बस्नेतले युवा संघलाई साइबर सेनाको रुपमा विकास गरिने बताएपछि त्यहाँ ठूलै विवाद शुरु भएको हो । धेरै युवा नेताहरुको साइबर सेना भन्ने शब्दप्रति आपत्ति रहेको र तर्कसंगत कुरा गर्न नसक्नेहरु विचार शुन्य व्यक्तिहरुले मात्रै यस्ता बकम्फूसे गफ गर्ने भएकाले साइबर सेनाको औचित्य नभएको भन्दै विरोध गर्न थालेका छन् । ‘साईबर सेना भन्ने चिज हुँदैन यो सामाजिक सञ्जाल भएकाले यसमा धेरै खालका विषयहरु हुन्छन्। राजनीतिक संगठनले राजनीतिक धारणाहरु व्यक्त गर्नुपर्छ’, युवा संघका एक उपाध्यक्षको धारणा छ । उनका अनुसार बस्नेत मात्रै साइबर सेनाको पक्षमा रहेको अन्य नेताहरु कोही पनि साइबर सेनाको पक्षमा रहेका छैनन । ‘अहिले वादल पक्षका युवाहरु संघमा पदाधिकारी दावी गरिरहेका छन् । उनीहरु पनि सहभागी भएपछि संघको बैठकबाट साइबर सेना खारेज हुन्छ यस्तो विषय उठ्दैन कोही एक जनालाई मनमा लागेको कुरा भाषण गर्दै संगठनको धारणाको रुपमा अघि सार्न पाइदैन’, ती उपाध्यक्षले भने । युवा संघ स्रोतका अनुसार वादल पक्षका युवा नेताहरुले एक जना उपाध्यक्ष र एक जना महासचिवको माग गरिरहेका छन् । तर ओली समूह उपाध्यक्ष मात्रै दिने पक्षमा रहेका छन् । 

बादल पक्षले अघिल्लो सोमबार सम्पन्न दुई दिने युवा संघको भेला बहिष्कार गरेको थियो । बादल पक्षले आपसमा सल्लाह नगरी एकलौटी ढंगबाट ओली पक्षका युवाहरुले वचन सिंहलाई संघको अध्यक्ष बनाएको, संघको केन्द्रीय समिति सदस्य संख्या ३ सय ३५ बनाएको, सहअध्यक्षमा किरण पौडेल र महासचिवमा रमेश आचार्यलाई चयन गरेकोमा आपत्ति जनाएको थियो । वादल समूहको नेतृत्व विरु तामाङले गर्दै आएका छन् । उनीले आफूसँग ४० जना केन्द्रीय सदस्य रहेको दावी गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ